बाढीले दरखोला लघुजलविद्युत पावर हाउस बगायो

काठमाडौँ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलामा आएको बाढीले पावर हाउस (विद्युत गृह) बगाएको छ ।  ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको नहर, बाँध र विद्युतगृह बाढीले बगाएको हो । आइतबार राति दरखोलामा आएको बाढीले लघुजलविद्युत परियोजनाको संरचना बगाएको लुलाङ आधारभूत विद्यालयका शिक्षक निकेश खड्काले जानकारी दिए ।

 

 

अविरल वर्षापछि दरखोलामा आएको बाढीले कटान गरेर किनारमा रहेको लघुजलविद्युत परियोजना बगाएको हो । पावर हाउस भएको ठाउँमा खोला बगेको छ । चारवटा वस्ती अन्धकार भएको शिक्षक खड्काले बताए । खबाङको दोभानमा रहेको बाँध, सात सय २५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा विद्युतगृहमा बाढीले क्षति गरेको छ ।

 

 

परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका तीा सय ६५ घरधुरीमा विद्युत आपूर्ति बन्द भएको हो । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारित साना उद्योग ठप्प भएको छ ।

 

 

कात्तिक २०७६ मा एक करोड ५२ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो । यसअघि साउन २०७२ मा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो ।

 

 

परियोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख रुपैयाँ र धवलागिरी गाउँपालिकाले पचास लाख रुपैयाँ लगानी गरेका थिए । प्रतिघर उपभोक्ताले १० दिनका दरले २० लाख रुपैयाँ बराबरको श्रमदान गरेर परियोजना बनाएका थिए ।

 

 

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बाढीले पु¥याएको क्षतिको विवरण संकलन र थप जोखिम अध्ययनका लागि जनप्रतिनिधि र उपभोक्ता समितिको टोली घटनास्थलतर्फ गएको बताए ।