रौतहटमा लोसपामा ८८ र एकीकृत समाजवादीमा ८४ जनप्रतिनिधिको सनाखत

काठमाडौं। रौतहटमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा ८४ जनप्रतिनिधिले सनाखत गरेका छन् ।

 

 

चन्द्रपुर नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित उपमेयर रामरती चौधरीसहित जिल्लाका ८४ जनाले एमाले छाडेका हुन्।

 

 

यस्तै जिल्लामा राष्ट्रिय जनता पार्टी नेपाल छाडेर लोकतान्त्रिक समाजवादी पार्टीमा ८८ जनप्रतिनिधिले सनाखत गरेका छन्।

 

 

मंगलबार अन्तिम दिनसम्म लोसपा ८८ जना र एकीकृत समाजवादीमा ८४ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।

 

 

जिल्लामा नेकपा एमालेबाट एक जना उपमेयरसहित एक सय पाँच जनाले विभिन्न पदमा चुनाव जितेका थिए । जस मध्ये ७ जनाको निधन भइसकेको छ ।

 

 

भदौ २ मा नेकपा एमाले विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी दल गठन भएपछि एमालेका जनप्रतिनिधिहरू दुई खेमामा विभाजन भएका हुन् ।