संखुवासभामा ६ जनाको हत्याकाण्डका आरोपी सार्वजनिक

विराटनगर । संखुवासभामा ६ जनाको हत्याकाण्डका आरोपी  एक जनालाई  प्रहरीले सार्वजनिक गरेको छ । 

 

मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

 

 

२६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । उनलाई प्रहरीले आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको छ ।

 

 

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।

 

 

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।