नियमित प्रक्रियाबाटै बजेट पारित गरेर खर्च गर्छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने जनाएका छन् । आजको संसद बैठकले अर्थमन्त्रीद्वारा पेश गरिएको विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ । यसपछि संसद बैठक असोज ४ गतेसम्मको लागि स्थगित गरिएको छ ।

 

 

 

बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने बताएका हुन् । उनले अर्थसम्बन्धी संसदमा पेश भएका विधेयकहरु प्रतिपक्षी दल नेकपा एमालेको सहमतिमै पारित गर्ने बताए ।

 

 

 

उनले अध्यादेशमार्फत बजेट ल्याउने कुरा पनि गलत रहेको बताए । उनले भने ‘पेश्की खर्च हुँदैन र अध्यादेशमापफर्त पनि बजेट आउँदैन । विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै बजेट कार्यान्वयन हुन्छ ।’

 

 

अघिल्लो एमाले नेतृत्वको सरकारले जेठ १५ मा ल्याएको अध्यादेश बजेटको प्रतिस्थापन विधेयक पारित नहुँदै संसद बैठक स्थगित गरिएको हो । उक्त प्रतिस्थापन विधेयक भदौ यही ३० गतेसम्म पारित नभएमा स्वतः निष्क्रिय हुने प्रावधान रहेको छ ।