सरकारको ‘बजेट होलिडे’ सुरु

काठमाडौं।सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि आजबाट सरकारको ‘बजेट होलिडे’ सुरु हुने भएको छ।

 

 

 

अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि आज राति १२ बजेबाट निष्क्रिय हुँदैछ। कम्तीमा चार दिनसम्म सरकार बजेटविहीन हुने भएको हो ।

 

 

 

अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ११४ मा संघीय संसद् अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ। जसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश आजबाट निष्क्रिय हुँदैछ।

 

 

 

बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ। तर, प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण विधेयकमा छलफल अघि बढेन।

 

 

 

सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्मका लागि स्थगित गरेका छन्। त्यसैले आजबाट बजेट अध्यादेश निष्क्रिय हुन लागेको हो। सोमबार बिहान ११ बजे संसद् बस्नेछ।

 

 

 

यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुने भएकाले ‘बजेट होलिडे’ भनिएको हो। न्युज कारखाना