मुगुका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलियो,अस्पतालमा औषधिको अभाव

काठमाडौं। मुगुका गाउँगाउँमा ज्वरो र निमोनियाको प्रकोप फैलिएको छ । यस्ता बिरामीमध्ये अधिकांश बालबालिका छन् । बिरामी बढेसँगै जिल्ला अस्पताल र स्वास्थ्यचौकीमा उपचार गराउन आउने बालबालिकाको संख्या बढेको छ ।

 

 

 

जिल्ला अस्पतालमा दिनमा ७० जनासम्म बिरामी आउने गरेकामा ५० जना बालबालिका छन् । जसमध्ये ५० प्रतिशत बालबालिकालाई ज्वरो र निमोनियाको लक्षण रहेको डा. डबल मल्लले बताए ।

 

 

एक्कासि बालबालिकाहरू धमाधम बिरामी पर्न थालेका छन्,’ उनले भने, ‘उपचारका लागि आएकामध्ये सबैजसो ज्वरो र निमोनियाका छन् ।

 

 

उनले पाँच वर्षमुनिका बालबालिका निमोनिया र ज्वरोबाट बढी प्रभावित भएको पाइएको बताए । बालबालिकामा रुघाखोकी, टाउको दुख्ने, शरीर दुख्नेलगायत समस्या पनि देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

 

 

१० महिने शिशुलाई नियोनिया भएपछि जिल्ला अस्पताल ल्याएको सोरु गाउँपालिका कालैकी बाँचु सुनारले बताइन् ।

 

 

‘चार दिनसम्म अस्पतालको इमर्जेन्सीमा राखिए पनि अझै स्वास्थ्यमा सुधार आएको छैन’, उनले भनिन्, ‘गाउँमा पनि घरैपिच्छे बालबालिका बिरामी रहेका छन् । एक साताअघि अस्पतालमा भर्ना गरिएका पाँच महिने एक शिशुको ज्यान गएको थियो ।

 

 

 

भदौ लागेदेखि सबै शय्या बिरामी बालबालिकाले भरिएको जिल्ला अस्पतालले जनाएको छ । मुगु अस्पतालमा अहिले १५ शय्यामा बिरामीको उपचार भइरहेको छ ।

 

 

‘बेडमा ठूला मान्छे बिरामी छैनन्’, डा‌। मल्लले भने, ‘सबै बेड बालबालिकाले नै भरिएका छन् ।

 

 

बिरामी बालबालिकाको संख्या बढेपछि अस्पतालमा औषधिको अभाव हुन थालेको अस्पतालकी अनमी सावित्रा मल्लले बताइन् । अहिलेको जसरी नै बिरामी थपिए एक हप्तामै अस्पताल औषधिविहीन हुन सक्ने उनको भनाइ छ ।

न्युज कारखाना