लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढायो

काठमाडौं। लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ ।

 

 

आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र कर्मचारीको वृत्तिविकास गर्न हरेक वर्ष खुला तथा आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति तथा बढुवाका प्रक्रिया गर्दै आएको छ ।

 

 

तर विगत दुई वर्षमा कोभिडको महामारीले गर्दा प्रकाशित भइसकेका पदका लागि परीक्षासमेत सञ्चालन हुन सकेका थिएनन् ।

 

 

त्यसले गर्दा नेपाल सरकारले माग गरेका पदको नयाँ पदपूर्ति पनि हुन सकिरहेको थिएन ।कोभिडको प्रभाव कम भएसँगै विगतमा स्थगित भएका विभिन्न तहका परीक्षा सञ्चालन भइसकेका छन् भने पदपूर्ति र बढुवाको अन्तिम प्रतिफल पनि प्रकाशित हुने क्रम पनि जारी रहेको छ ।

 

 

 

आयोगका प्रवक्ता तोयानारायण सुवेदीका अनुसार आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ गरी दुई वर्ष रोकिएका सबै पदका परीक्षा सञ्चालन भइसकेका छन् ।

 

 

ती दुई वर्षका सहसचिव तथा उपसचिव तहका कार्यक्षमता र जेष्ठताको बढुवाको परीक्षाफल प्रकाशित भई पदस्थापन पनि भइसकेको छ भने खुला तथा आन्तरिक प्रतिस्पर्धाका पदमा लिखित परीक्षा सञ्चालन भई परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

 

 

प्रवक्ता सुवेदीले भने, “सहसचिव र उपसचिव पदको परीक्षाफल प्रकाशित गर्ने अन्तिम चरणमा पुगेको छ तर शाखा अधिकृतदेखि तल्ला पदका विषयमा अदालतमा मुद्दा परिरहेकोले त्यसको टुङ्गो लागेपछि मात्र बाँकी काम अगाडि बढाइने भएका छन् ।

 

 

कोभिडले प्रभावित पारेपछि विगत दुई वर्षको अवधिमा गर्न नसकिएका नयाँ पदपूर्ति तथा बढुवा प्रक्रियाको करिब चार हजार कर्मचारीको छनोट गर्ने काम आयोगले पछिल्ला दिनमा सम्पन्न गरिसकेको छ ।

 

 

 

प्रवक्ता सुवेदीका अनुसार कोभिडको प्रभाव कम हुने बित्तिकै आयोगको कार्यालयमा स्वास्थ्यका मापदण्ड पूरा गरेर भए पनि परीक्षा सञ्चालन गरेको छ ।गोरखापत्र दैनिक,