इन्टरनेटको मूल्य बढाउने निर्णय

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले पोलको भाडा अत्यधिक बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक सङ्घ, नेपाल (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ ।

 

मूल्य बढाउनेसम्बन्धी आइस्पानको उक्त निर्णय बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष पेस गरिएको अध्यक्ष सुधिर पराजुलीले जानकारी दिनुभयो ।

 

 

जसरी पनि निजी इन्टरनेट सेवा प्रदायकलाई दुःख दिने विद्युत् प्राधिकरणको नीतिका कारण बाध्य भएपछि भाडा बढाउने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो ।

 

आइस्पानको बुधबारको बैठकले ग्रामीण क्षेत्रमा प्रतिग्राहक प्रत्येक प्याकेजमा मासिक तीन सय र सहरी क्षेत्रमा प्रतिग्राहक १५० रुपियाँसम्म इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो ।

 

 

उक्त निर्णय सदर गरिदिन प्राधिकरणलाई औपचारिक रूपमै आग्रहसहित पेस गरिएको पराजुलीले जानकारी दिनुभयो ।

 

 

विद्युत प्राधिकरणले भदौ २९ गते मात्र सूचना जारी गर्दै ओपीजीडब्लू केबलको पोल भाडादर सात गुणासम्म बढाएको आइस्पानले जनाएको छ ।

 

 

 

सूचनाअनुसार अबदेखि इन्टरनेट सेवा प्रदायकहरूले प्रतिकिलोमिटर ओपीजीडब्लू केबलको भाडा ३२ हजार रुपियाँसम्म तिर्नुपर्नेछ ।

 

 

इन्टरनेट सेवा प्रदायकहरूको आफ्नै पूर्वाधार नहुँदा अहिले देशैभर सबैले विद्युत् प्राधिकरणको पोलमा केबल टाँगेर सेवा प्रदान गर्दै आइरहेका छन् ।

 

 

 

आइस्पानको पत्र प्राप्त भएपछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने सञ्चार तथा सूचना मन्त्रालयलाई समन्वयका लागि आग्रह गर्ने भएको छ ।

 

 

 

पोल भाडादरको विषय टुङ्ग्याउन समिति गठन गरे पनि त्यसबाट कुनै निर्णय नभएको र विद्युत् प्राधिकरणले सूचना नै जारी गरेको अवस्थामा मन्त्रालयबाट समन्वय गर्नुको विकल्प नभएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

 

अब हामी सञ्चार मन्त्रालयलाई ऊर्जा मन्त्रालयसँग यो विषयमा समन्वयका लागि आग्रह गर्छौं,” उहाँले भन्नुभयो ।गोरखापत्र दैनिकमा खबर छ।