अदालतले सजाय तोकेका मानव तस्कर एमाले सांसदलाई प्रहरीले छाड्दा

काठमाडौं। अदालतले कैद सजाय र क्षतिपूर्तिको फैसला सुनाएका संगठित मानव तस्करीका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउलगत्तै छाडेको तथ्य खुलेको छ ।

 

जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले गम्भीर प्रकृतिको फौजदारी कसुरमा कैद सजाय तोकिएका टोपबहादुर जीसीलाई शक्ति केन्द्रको दबाबमा छाडेका हुन् ।

 

 

जीसी नछुटेको भए दाङका तीनसहित ७ नेपाली बेपत्ता हुने थिएनन् । अवैध बाटोबाट अमेरिका जाने क्रममा गत असार ७ गते क्यारेबियन सागरमा भएको डुंगा दुर्घटनामा परेर उनीहरू हराएका हुन् ।

 

 

टोपबहादुर मध्यपश्चिमका युवालाई अवैध रूपमा अमेरिका छिराउने संगठित मानव तस्करीको गिरोहका मुख्य सदस्यका रूपमा प्रहरीले पछ्याइरहेका व्यक्ति हुन् ।

 

 

उनले दाङ तुलसीपुरका नरेन्द्र बस्नेतलाई २०७३ चैतमा ७० लाख लिएर अमेरिका छिराइदिने भन्दै घरबाट हिँडाएका थिए ।

 

 

अनेकन दुःख सहँदै गैरकानुनी रूपमा १३ देशको सीमा छिचोलेर नरेन्द्र अमेरिका त पुगे तर पक्राउ परिहाले । १७ महिना हिरासतमा बसेपछि अमेरिकी अध्यागमनले उनलाई नेपाल फर्काइदियो ।

 

 

७६ लाख खर्च गरिसकेका उनले रित्तो हात फर्केपछि टोपबहादुर, लुम्बिनी प्रदेश सांसद उत्तरकुमार वली र उनका सहयोगी मुकुन्दराज जीसीविरुद्ध प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जाहेरी दिए ।

 

 

त्यही जाहेरीका आधारमा चलेको मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७६ असार ४ मा फैसला सुनाउँदै टोपबहादुरलाई १५ लाख धरौटी र मुकुन्दराजलाई २ लाख ५० हजार धरौटीमा छाड्ने आदेश दियो ।

 

 

प्रदेश सांसद उत्तरकुमारको भने सडक दुर्घटनामा मृत्यु भइसकेकाले अदालतले केही आदेश दिएन ।

 

 

धरौटीमा छाड्ने आदेश दिएको १९ महिनापछि जिल्ला अदालत काठमाडौंले टोपबहादुरलाई २ वर्ष कैद सजाय र १२ लाख रुपैयाँ क्षतिपूर्ति तथा मुकुन्दराजलाई १ वर्ष कैद सजाय हुने फैसला गर्‍यो ।

 

 

 

उत्तरकुमारको मृत्यु भइसकेकाले उनकी श्रीमती विमलाकुमारी वलीबाट २५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला थियो । विमलाकुमारी अहिले लुम्बिनी प्रदेशकी सांसद छिन् ।

 

 

फैसलाको १२ दिनपछि माघ २ मा जिल्ला प्रहरी कार्यालय दाङले टोपबहादुरलाई पक्राउ गर्‍यो । तर फौजदारी कसुरमा सजाय तोकिएका उनलाई पक्राउ परेकै दिन एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेको जमानीमा छाडिदिए ।

 

 

 

फौजदारी कसुरका अभियुक्तलाई प्रहरीले पक्राउ गरेर पनि छोडिदिएको समाचार सुरुमा अनलाइन पोर्टल उकेरा डटकमले सार्वजनिक गरेको थियो । -कान्तिपुर दैनिकले लेखेको छ।