प्रतिनिधिसभा बैठक आज बस्दै,विनियोजन विधेयक पास गर्ने तयारी,एमालेले अवरोध गर्ने

काठमाडौं। प्रतिनिधिसभा बैठक आज ११ बजे बस्दै छ। सरकार अध्यादेशमार्फत आएको बजेटमाथिको प्रतिस्थापन विधेयक अघि बढाउने तयारीमा छ।

 

 

समयमा बजेट पारित नहुँदा सरकारले खर्च गर्न नसक्ने अवस्था सिर्जना भएकाले कर्मचारीलाई तलब खुवाउनकै लागि भए पनि आज बजेट पास गर्नैपर्ने बाध्यता सरकारलाई छ।

 

 

संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने र मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराएका छन्।

 

 

प्रतिनिधि सभाको नवौं अधिवेशनका ४ बैठक अवरोध गरिसकेको एमालेले सोमबारको बैठक पनि अवरुद्ध गर्ने तयारी गरेको छ ।

 

 

सभामुख अग्निप्रसाद सापकोटाले आज असोज ४ गते बस्ने गरी प्रतिनिधिसभा बैठक डाके पनि पार्टी विभाजन गर्न सभामुखले सघाएको भन्दै प्रतिपक्षी एमालेले सदन अवरुद्ध पार्दै आएको हो।

 

 

कर्मचारीलाई तलब खुवाउन आज संसदबाट बजेट पारित गर्नैपर्ने सरकारको बाध्यता छ। माग पूरा नभएसम्म अवरोध जारी राख्ने एमालेको तयारी छ। आजको संसद बैठकमा दुबै पक्षको घम्साघम्सी हुने संकेत देखिएको छ।