काठमाडौं जिल्ला प्रशासनले गर्यो चाडपर्व केन्द्रीत यस्तो आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वमा भिडभाड नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी काठमाडौंवासीका नाममा चाडपर्व केन्द्रीत आदेश जारी गरेका हुन् ।

 

 

आदेशमा कोभिड-१९ संक्रमण कायमै रहेकाले चाडपर्वहरु स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी न्यूनतम सहभागितामा सांकेतिक रुपमा सकेसम्म घरभित्र परिवारका व्यक्तिहरु मात्र सामेल हुनेगरी मनाउन भनिएको छ ।

 

 

अनावश्यक रुपमा मानिसहरु घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्नेरनगराउने भनिएको छ ।

 

 

मास्कको अनिवार्य प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि अनुरोध गरिएको छ ।

 

 

सर्वसाधारण व्यक्ति, समूह तथा संस्था लगायतका निकायहरुबाट आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधिहरुमा पनि यो मापदण्ड पालना गर्न भनिएको छ ।

 

 

प्रशासनले नजिकिँदै गरेको चाडपर्वको समयमा बढी भिडभाड एवं जोखिमयुक्त क्षेत्रहरु एवं यात्रा गर्दा हुन सक्ने चोरी, ठगी, लुटपाटजन्य गतिविधिबाट सर्वसाधरण सचेत रहन अपिल गरेको छ ।

 

 

यात्रा गर्दा आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट काटेर यात्रा गर्न र सवारी साधनको छतमा यात्रा नगर्न भनिएको छ ।

 

क्षमताभन्दा बढी यात्रु नराख्नु

 

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात सञ्चालकलाई पनि विभिन्न आदेश गरेको छ । जसमा काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनहरु स्वीकृत सिट क्षमताअनुसार सञ्चालन गर्न भनिएको छ ।

 

 

कुल स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सबारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने भनिएको छ ।

 

 

सार्वजनिक सेवा प्रदायक निकाय लगायत बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह गर्दा सामाजिक दूरी कायम हुने र स्वास्थ्यका मापदण्डको पालना हुनेगरी सेवा प्रवाह गर्ने र यथासम्भव अनलाइन माध्यमबाट सेवा प्रदान गराउन आदेश गरिएको छ ।

 

 

उद्योग, कलकारखाना, होटेल, रेष्टुरेण्ट, सिनेमा हल, व्यायामस्थल लगायतका स्थान सामाजिक दूरी कायम राखी स्वास्थ्यका मापदण्डको पालना हुने गरी सञ्चालन गर्न पाउने भनिएको छ ।

 

 

सञ्चालन गर्दा कामदार कर्मचारीको समय समयमा एण्टीजेन, च्यापिड एण्टीजेन तथा कोभिड-१९ परीक्षण गर्ने गराउने, आफ्नो व्यवसाय परिसर निसङ्क्रमित (डिसइन्फेक्ट)गर्ने गराउने भनिएको छ ।

 

 

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृतिम अभाव सृजना गर्ने, मूल्य वृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारवाही गरिने पनि आदेशमा चेतावनी दिइएको छ ।