एमालेको प्रथम विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशनमा ६ हजार प्रतिनिधि सहभागी हुने भएका छन् । महाधिवेशन मूल व्यवस्थापन समितिले प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको जनाएको छ ।

 

 

समितिका संयोजक रामबहादुर थापा बादलका अनुसार विधान महाधिवेशनमा विभिन्न कमिटीबाट प्रतिनिधित्व रहेको छ ।

 

 

जसमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधिहरु सहभागी हुनेछन् ।

 

 

त्यसैगरी पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसदहरु, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुखहरु, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु रहेका छन् ।

 

 

जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधिहरु, भारतलगायत प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्यहरु पनि प्रतिनिधि छन् ।

 

 

१५-१७ असोजसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चल्ने विधान महाधिवेशनको उद्घाटन भोलि अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

 

 

महाधिवेशनमा अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखेलबाट संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

 

 

प्रस्तावमाथि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।