इजरायलका लागि १ हजार १७५ कामदारको छनोट

काठमाडौं। बारम्बार श्रमसम्बन्धी सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो भइरहेका बेला इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ ।

 

वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकका रूपमा लिइने इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।

 

 

वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो । यसमध्ये नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएको थियो । सूचीकृतमध्ये १ हजार जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो ।

 

 

इजरायलको जेरुसेलममा गरिएको गोलाप्रथाबाट छनोट भएका नेपालीको नाम वैदेशिक रोजगार विभागमा पठाइसकेको छ ।

 

 

वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले इजरायली पक्षबाट १ हजार १७५ जना नेपालीको नाम छनोट गरी आइसकेको बताए ।

 

 

उनले नाम आएका व्यक्तिहरूको अब मेडिकल परीक्षण र प्रहरी रिपोर्ट आएपछि इजरायल जान तयार हुने बताए । छनोट भए पनि मेडिकल परीक्षणको रिपोर्ट र प्रहरी रिपोर्टमा गलत आएमा इजरायल ल जान पाउने अवस्था रहने छैन ।

 

 

मंगलवार भएको भर्चुअल कार्यक्रममा काठमाडौंबाट सहभागी भएका नेपालका लागि इजरायली राजदूत हनान गोडरले १ हजार नेपाली लैजाने काम अघि बढेको र यसबाट दुवै मुलुकका नागरिक लाभान्वित हुने बताए ।

 

 

उनका अनुसार इजरायलले नेपालबाट मुख्य कामदारलाई सहयोग गर्ने सहायक कामदारका रूपमा लैजान १ वर्षअघि प्रक्रिया थालेको थियो ।

 

 

उक्त प्रक्रियामा शुरूमा ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसपछि अंग्रेजी भाषाको जाँच, अध्ययन गरेको दस्तावेजलगायत अन्य प्रक्रिया पूरा गरेर १ हजार ६०० जना छनोट भएका हुन् ।

 

 

 

तीमध्ये गोलाप्रथाबाट १ हजारलाई छनोट गरिएको हो । यो गोलाप्रथा सबैभन्दा पारदर्शी प्रक्रिया रहेको राजदूत गोडरले बताए ।

 

 

 

इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यले यो कामदार छनोट प्रक्रिया हरेक चरणमा पारदर्शी रहेको बताइन् । ‘दुवै मुलुकका जनताले यसको फाइदा लिन सक्ने छन्,’ उनले भनिन् । आर्थिक अभियान दैनिकले लेखेको छ।