बैतडी र महोत्तरीमा दुर्घटना,३ जनाको मृत्यु

काठमाडौं। महोत्तरी र बैतडीमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो ।

 

 

 

महोत्तरीको बर्दिबास नगरपालिका–४ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजय कुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

महतोको मृत्यु शुभ स्वस्तिक अस्पताल बर्दिबासमा र तामाङको मृत्यु रामजानकी अस्पतालमा भएको हो ।

 

विपरीत दिशाबाट जाँदै गरेका प्रदेश २–०१–००२ प ०५९७ र ज १२ प २९ ६१ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका एक जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको छ।

 

 

यसैगरी बैतडीको दोगेडा केदार गाउँपालिका ३ तारल नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

 

दार्चुलाको गोकुलेश्वरबाट सतबाँजतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्याक्टर गएराति साढे १ बजे अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।

 

 

दुर्घटनामा बैतडीको डिलासैनी गाउँपालिका ३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।