चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

काठमाडौं। चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ ।

 

 

बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो ।

 

 

गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो ।

 

 

 

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे ।

 

 

दुवै निकायले राहतस्वरुप तत्कालका लागि रु ५०९५० हजार सहयोग गरेका हुन् ।

 

 

 

वन कार्यालयले रु दश लाख राहत प्रदान गर्ने भएकामा तत्कालका लागि ५० हजार वितरण भएकाले थप रु नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ ।

 

 

 

अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए ।