युवा र प्रहरीबीच झडप हुँदा सात प्रहरी घाइते

काठमाडौं। रुकुम पश्चिम-रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन्।

 

 

शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएका हुन्।

 

 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ। बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ भने चार जना भागेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

 

बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो।