बाढी, पहिरो र डुबान पीडित जनतालाई तत्काल राहातको व्यवस्था गर्न अध्यक्ष सीपी गजुरेलको माग

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलद्धारा बाढी पहिरो पीडित जनतालाइ तत्काल राहात उपलब्ध गराउन विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ। 

 

 

मनसुन समाप्त भएको र दशैं पर्व मनाइरहेकै बेला नेपालमा प्रकृतिले ताण्डव देखायो । गत असोज ३१ गतेदेखि परेको अविरल मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले गर्दा नेपालका विभिन्न भागमा झण्डै १०० जना नेपालीको ज्यान गएको छ र दर्जनौं मानिस अझै पनि बेपत्ता छन् ।

 

 

 

धेरै जना घाइते भएका छन् । हामी सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । शोक, सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं । हजारौं घर–परिवारको विचल्ली भएको छ ।किसानहरुले काटेको धान नै बाढीले बगाएको वा पानीमा डुबेको छ ।

 

 

 

 

उनीहरुसँग न बस्ने बास छ, न त खाने गाँस । विचल्लीमा परेका सबै जनतालाई खाद्यान्न, औषधी र लुगाफाटोका साथै घर बनाउने व्यवस्था अविलम्ब गर्न केन्द्र सरकार, प्रदेश सरकारहरु र स्थानीय तहहरुसँग जोडदार माग गर्दछौं ।

 

 

 

 

विपद्को यस घडीमा जनतालाई राहत दिलाउन र उनीहरुको व्यवस्थापनमा सबै किसिमको सहयोग गर्न संगठनका सम्पूर्ण सदस्यहरु र समर्थकहरुलाई समेत यसै वक्तव्यमार्फत् निर्देशित समेत गरिएको छ ।