दाङमा सुमो दुर्घटना, ८ जना घाइते

काठमाडौं। दाङको देउखुरीमा टाटा सुमो गाडी पल्टिएको छ । जसमा परी आठ जना घाइते भएका छन्। दुर्घटनाका घाइते अधिकांश प्यूठान जिल्लाका छन्।

 

 

 

प्यूठानबाट दाङको सतबरियातर्फ आउँदै गरेका उनीहरू सवार रा१ज ७३७ नम्बरको सुमो गाडी शनिबार दिउँसो पौने १ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका–७ अर्जुन खोलानजिकै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

 

 

घाइते हुनेमा प्युठान नगरपालिका–५ की १३ वर्षीया रविना घर्ती, २२ वर्षीया कुमारी राना, ५३ वर्षीया दिलसरा राना, प्यूठान–३ का आरोप खड्का, २२ वर्षीया लक्ष्मी खड्का, सोही ठाउँकै ३९ वर्षीय गणेश घर्ती, ८ वर्षीय विजय घर्तीमगर छन्।

 

 

 

त्यस्तै, दुर्घटनामा दाङको लमही नगरपालिका–६ देउपुरका ३६ वर्षीय तुलसीराम न्यौपाने घाइते भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

 

 

 

गाडीमा १२ जना सवारमध्ये चार जना घाइतेको अवस्था मध्यम, चार जना सामान्य र चार जनालाई केही पनि नभएको डिएसपी रिजालले जानकारी दिए।

 

 

 

घाइतेहरूको लमही र घोराहीका अस्पतालमा उपचार भइरहेको छ। तीब्र गतिका कारण गाडी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

 

 

गाडी चालक प्यूठान नगरपालिका वडा नं। ६ का २५ वर्षीय ऋषिराम नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।