नेपाल–भारत सीमा छुट्टयाउन सुस्ताबासीको सरकारसँग माग

काठमाडौं । सुस्ता बचाउ अभियानकर्मीले नवलपरासीको सुस्ता गाउँपालिका–५ मा नेपाल भारतको सीमा छुट्याई जङ्गे पिलर कायम गर्न माग गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणसँग मंगलबार मन्त्रालयमा भेट गरी उनीहरुले उक्त माग गरेका हुन् ।

 

 

अभियान टोलीले मन्त्री खाँणलाई चार बुँदे ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्रमा २०२२ सालदेखि सुस्ताबासीको जोतभोगमा रहेको जग्गा जमिनको नापी नक्सासमेत गरी जग्गाधनी प्रमाणपत्र वितरण गर्न माग गरिएको छ ।

 

 

संविधानसभा सदस्यद्वय देवकरण कलवार र विक्रम खनालसहितको टोलीले गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएको हो ।

 

 

नेपाल–भारत सीमा छुट्टयाउनुपर्ने, सुस्ताबासीले जोतभोग गरी आएको जग्गाको लालपुर्जा वितरण गरी राजस्व सङ्कलन गर्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय बासिन्दालाई नागरिकता उपलब्ध गराउनुपर्नेलगायत उनीहरुले माग छ ।

 

 

 

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले मागबारे आफू सकारात्मक रहेको उल्लेख गरेका थिए । अन्य मन्त्रालयसँग सरोकार राख्ने विषयमा सम्बन्धित मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाउन उहाँले आग्रह गर्नुभयो ।

 

 

 

सीमाङ्कन गर्ने, सशस्त्र प्रहरी परिचालन गर्ने र भूमि बचाउने विषयमा आफू सकारात्मक रहेको गृहमन्त्री खाँणको भनाइ थियो ।