सामाजिक सञ्जाल फेसबुकको नाम अब मेटा रहने

काठमाडौं। सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ । फेसबुकको परिवर्तन गरिएको नाम मेटा हुनेछ।

 

फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुकको नाम परिवर्तन गरेर मेटा राख्ने घोषणा गर्नुभएको हो । लामो समयदेखि फेसबुकले नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो ।

 

 

फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताउनुभएको छ ।

 

 

जुकरबर्ग फेसबुकलाई सामाजिक सञ्जालको रुपमा मात्रै सीमित गर्ने पक्षमा हुनुहुन्न । उहाँ मेटाभर्स बनाउने कार्यमा धेरै अघिदेखि लागि पर्नुभएको थियो।

 

 

भर्चुअल माध्यमको मेटाभर्समा फरक फरक विशेषताहरु छन्। जुकरबर्गले गोपनियता र सुरक्षालाई मेटाभर्समा निर्माण गर्नुपर्ने बताउनु भएको छ।

 

 

‘हामी एक कम्पनी हौँ, जसले एकआपसमा जोडिने प्रविधि निर्माण गर्दछ । सँगै, हामी अन्ततः मानिसहरूलाई हाम्रो प्रविधिको केन्द्रमा राख्न सक्छौँ’, मार्क जुकरबर्गले भन्नुभएको छ ।

 

 

कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जनाएको छ ।

युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदलेको हो ।

 

 

पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।

 

साथै फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेको जनाएको छ ।

 

 

फेसबुकले पछिल्लो समय स्मार्ट चस्मा लगायतका कन्जुमर हार्डवेयर उत्पादन सुरु गरिसकेको छ र यसका लागि १० हजारभन्दा धेरै कर्मचारी खटाइसकेको छ ।