ओलीले गरेको उद्घाटनपछि धरहराको काम सुस्तायो

काठमाडौं। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ११ गते धरहराको सबै पूर्वाधार तयार नहुुँदै हतार–हतारमा उद्घाटन गरे। ओलीले उद्घाटन गर्नु अघिसम्म धरहरा निर्माणको काममा चार सयभन्दा धेरै कामदार दिनरात खटिन्थे।

 

 

जब तत्कालीन प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरे,यसको पुनर्निर्माणको गति कछुवा भन्दा पनि सुस्त भयो।

 

 

ओली नेतृत्वको सरकार पतन भएसँगै ऐतिहासिक धरोहर पुनर्निर्माण सुस्तायो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विघटन हुने समय नजकिँदै जानु र ठेकेदार कम्पनीको ढिलासुस्ती तथा अकर्मण्यताले धरहरा पुनर्निर्माणको गति सुस्त हुन पुगेको हो।

 

 

तत्कालीन प्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गर्दा परियोजनाको समष्टिगत भौतिक प्रगति ४५ प्रतिशत मात्रै थियो।

 

 

प्राधिकरणका एक इन्जिनियर पूर्वप्रधानमन्त्री ओलीले उद्घाटन गरेसँगै धरहरा निर्माणको काम सुस्ताएको बताउँछन्।

 

 

 

पहिला कहिले प्रधानमन्त्री आउने,कहिले राष्ट्रपति आउने गर्दा दबाबले ठेकेदार कम्पनीले द्रुत गतिमा काम गथ्र्यो,अहिले त झारा टार्ने हिसाबले मात्रै काम गरेको देखिन्छ,’ उनले भने, ‘पूर्वप्रधानमन्त्री ओलीले धरहरा उद्घाटन गरिसकेकाले पनि अहिलेको सरकारको प्राथमिकतामा यो परेको छैन। त्यसैले ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ।

 

 

महालेखापरीक्षकको ५८औं वार्षिक प्रतिवेदनले धरहराको उद्घाटन हुँदा वित्तीय प्रगति ५५ प्रतिशत र भौतिक प्रगति ४५ प्रतिशत देखाएको थियो।

 

 

धरहराको उद्घाटन भइसके तापनि सञ्चालनमा आएको छैन,’महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘तोकिएको समयमा सम्झौता अनुसारको निर्माण सम्पन्न हुने अवस्था देखिँदैन।

 

 

जिआइइटिसी–रमन जेभीले धरहरासहितका पूर्वाधार निर्माणका लागि तीन अर्ब ८ करोड ११ लाखमा ठेक्का लिएको थियो। २०७५ असोज १४ गते धरहरा पुनर्निर्माणको ठेक्का सम्झौता भएको थियो।

 

 

उक्त ठेक्का सम्झौता अनुसार धरहरा निर्माण दुई वर्षभित्रै सम्पन्न हुनुपर्ने थियो। तर कोभिड–१९ का कारण सरकारले दुईपटक ६–६ महिना आयोजनाको म्याद थप गरिसकेको छ।

 

 

सरकारले पछिल्लो समय कोभिड–१९ लाई कारण देखाउँदै चैत मसान्तसम्म आयोजनाको म्याद थप गरेको छ। तर बाँकी काम आगामी चैत मसान्तभित्र सम्पन्न हुने देखिँदैन।

 

 

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहराको मुख्य स्तम्भ तयार भइसके पनि बाहिरी सौन्दर्यीकरणको काम अझै बाँकी रहेको बताए।

 

 

धरहराको मुख्य संरचना तयार भएर उद्घाटन भइसक्यो,’ उनले भने, ‘बाहिर देखिने संरचनाको काम अझै बाँकी छ।

 

 

ठेकेदार कम्पनीका अनुसार अहिलेसम्म धरहराको समष्टिगत भौतिक प्रगति करिब ७० प्रतिशत छ। आयोजनाका अनुसार धरहराको प्रशासनिक भवन, युटिलिटिज भवन, भूमिगत पार्किङ, भूकम्पले क्षतिग्रस्त भएर बचेको धरहराको ठुटोलाई भूकम्प स्मारकको रूपमा सिसाको फ्रेममा राख्ने काम बाँकी छ।

 

 

 

धरहरा परिसरमा आकर्षक बगैंचा, संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत निर्माण पनि बाँकी छ। प्रोजेक्ट म्यानेजर नकर्मीले आगामी साउनभित्र निर्माण सकिने दाबी गरे।

 

 

प्राधिकरणका एक इन्जिनियरले ठेकेदार कम्पनीले धरहरा निर्माण बापतको मोबिलाइजेसन रकम अन्यत्रै खर्च गरेकाले धरहराको पूर्वाधारमा पर्याप्त लगानी र कामदार खटाउन नसकेको दाबी गरे।

 

 

 

‘४२ रोपनी क्षेत्रफलमा निर्माणाधीन धरहरामा अहिले दुई दर्जन कामदार पनि देखिँदैनन्,’ उनले भने, ‘राष्ट्रिय महत्वको यति ठूलो बजेटको प्रोजेक्टमा चार आनामा घर बनाउने जति कामदार खटाएकैले समयमै काम नसकिएको हो।

 

 

यो आयोजना तीन अर्ब आठ करोड लागतको हो। ठेकेदार कम्पनीले यो आयोजनाको निर्माण थालेसँगै मोबिलाइजेसन बापत २० प्रतिशतको दरले ६० करोड रूपैयाँ रूपैयाँ बुझेको थियो।

 

 

 

जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर नकर्मीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमै निर्माणाधीन पूर्वाधारको डिजाइन उपलब्ध नगराउँदा निर्माणमा केही ढिलाइ भएको दाबी गरे।

 

 

‘प्राधिकरणले धरहरा परिसरमा निर्माण हुने प्रशासनिक भवनको डिजाइन उपलब्ध गराउनै दुई वर्ष जति ढिलो गर्‍यो, उनले भने, ‘युटिलिटिज लगायत अन्य पूर्वाधारको नक्सा तथा डिजाइनमा समय लगाएकाले तोकिएको समयमा काम हुन नसकेको हो।

 

 

नकर्मीले आगामी साउनभित्रै धरहरा परिसरका संरचनाको पुनर्निर्माण हुने दाबी गरे। तर अहिलेकै गतिमा काम हुने हो भने त्यो सम्भावना निकै कम छ। धरहरा परिसरमा धेरै पूर्वाधार निर्माण गर्न बाँकी छ।

 

 

अहिले निर्माणाधीन धरहरा बाहिरबाट सरसर्ती हेर्दा ११ तल्लाको देखिए पनि भित्री भागमा २२ तल्ला छ। २०७२ सालको भूकम्पमा धरहरा भत्किएसँगै सरकारले आधुनिक निर्माण सामग्री र नयाँ शिराबाट निर्माण गर्दै आइरहेको छ।

 

 

प्रधानमन्त्री ओलीले आफैं उपस्थित भएर २०७५ पुस १२ गते धरहरा शिलान्यास गरेका थिए। पुरानो धरहराबाट करिब १० मिटर पूर्वतर्फ नयाँ निर्माण भएको हो। गजुरसहित नयाँ धरहराको उचाइ ७९.९ मिटर छ।नागरिक दैनिकम खबर छ।