संयुक्त विद्यार्थी सङ्गठनले दिएको चन्दा आयल निगमका कर्मचारीले लिन मानेनन्

काठमाडौं। संयक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै चन्दा उठाएको रकम नेपाल आयल निगमको कार्यालयमा बुझाएका छन् । 

 

विभिन्न पार्टीका ६ वटा विद्यार्थी सङ्गठनले केही दिनअघि विरोध स्वरूप काठमाडौंको रत्नपार्कको शान्तिबाटिकामा एक एक रुपैयाँ चन्दा उठाएका थिए ।

 

उठाइएको चन्दा आज संयुक्त विद्यार्थी सङ्गठनका नेताहरूले नेपाल आयल निगमका कर्मचारीलाई बुझाउन खोजे पनि कर्मचारीले लिन अस्वीकार गरेपछि कार्यालयको मूल गेटमा राखेर फर्किएका छन् ।

 

 


आफूहरू आउने थाहा पाएपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पहिले नै भागिसकेका र अरू कर्मचारीलाई बुझाउन खोज्दा उनीहरूले नलिएपछि चन्दाको रकम निगमको कार्यालयको गेटमा राखेको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

 

विद्यार्थीले निगमको गेट अगाडि नाराबाजी गर्न थालेपछि प्रहरी र विद्यार्थीबिच केही बेर ठेला ठेल भएको थियो।पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि जहिलेसम्म फिर्ता हुँदैन त्यति बेलासम्म आफूहरूको आन्दोलन चलिरहने अध्यक्ष हरिकृष्ण गजुरेलले बताउनुभयो ।

 

 

आज दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो । अब हामी तेस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारीमा छौं संयुक्त विद्यार्थी संगठनका नेताहरूसँग थप आन्दोलनको बारे छलफल गरेर आन्दोलन घोषणा गर्ने अध्यक्ष गजुरेलले जानकारी दिनुभयो।