काठमाडौंको पूर्वोत्तर क्षेत्रमा टेलिकमको एडिएसएल सेवामा समस्या

काठमाडौं । राजधानीको पूर्वोत्तर भेगमा नेपाल टेलिकमले बाँडेको एडिएसएल इन्टरनेट सेवामा पटक–पटक समस्या आउँदा पनि समाधान नभएपछि ग्राहक मर्कामा पर्ने गरेका छन् ।

 

 

यस क्षेत्रका शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको केही भागमा समेत एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको छ । यो क्षेत्र नेपाल टेलिकमको जोरपाटी र इन्द्रायणी शाखाले हेर्ने क्षेत्र हो ।

 

 

जोरपाटी–थली–साँखु र जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तारका क्रममा रहेकाले पनि यस क्षेत्रको एडिएसएल इन्टरनेट सेवामा समस्या आउने गरेको ग्राहक रश्मी पुडासैनीले बताए ।

 

 

 

तामाको तारबाट इन्टरनेट सेवा दिइने एडिएसएल सेवामा तार काटिएपछि हप्तौँ सेवा अवरुद्ध हुने गरेको छ । सडक विस्तारका क्रममा विद्युत्का खम्बा सार्ने क्रममा टेलिफोनको तारमा समेत अवरोध आउने गरेको छ ।

 

 

 

टेलिफोनको तार भूमिगत गरिएको क्षेत्रमा सडक विस्तारका क्रममा ढल हाल्ने, खानेपानीको पाइप फेर्ने, मर्मत गर्ने गर्दा समेत एडिएसएल सेवाका ग्राहक मर्कामा पर्ने गरेका छन् ।

 

 

 

नेपाल टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख पर्वतराज न्यौपाने सबैतिर ‘फाइबर टु होम’ अर्थात् एफटिटिएच सेवा विस्तार गर्ने योजना बनिसकेकाले तामाको तार नकिन्ने नीति कार्यालयले लिएको बताउछन् ।

 

 

टेलिकमको यस्तो नीतिका कारण वर्षौँदेखि पुरानो भएको एडिएसएल सेवा बाँडिएका तामाका तार परिवर्तन हुनसकेको छैन । यसले गर्दा पनि एडिएसएल सेवा चलेका बेलामा राम्रोसँग काम गर्दैन ।

 

 

 

एडिएसएल सेवामा पाँच एमबिभन्दा धेरै गतिको इन्टरनेट सेवा दिन नमिल्ने भएकाले पनि ढिला हुने गरेको कार्यालय प्रमुख न्यौपानेको स्वीकारोक्ति छ ।

 

 

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले न्यूनतम् २५ एमबी गतिको इन्टरनेट सेवा दिएकाले एकपटक एडिएसएल सेवा जोडेर दुःख पाएका ग्राहकले कहिल्यै सरकारी कम्पनी नेपाल टेलिकमको एडीएसएल सेवा जोड्दैनन् ।

 

 

 

एडिएसएल सेवा जोडेर वर्षौँदेखि दुःख पाउनुभएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका राकेश रसाइली पटक–पटक टेलिकमको शाखा कार्यालयमा गुणस्तर सुधारका लागि अनुरोध गरे पनि समस्या समाधान नहुने गरेको बताउछन् ।

 

 

एडिएसएल सेवामा समस्या आउँदा आफूले सञ्चालन गरेको गोल्डेन मिसन एजुकेशन सेन्टरको काममा धेरैपटक समस्या भोग्नुपरेको उनले गुनासो गरे ।

 

 

 

यो समस्या लिएर पटक–पटक रसाइली जोरपाटी शाखा कार्यालय पुग्ने गरेको छ । टेलिकमले पाँच वर्षअघिदेखि यस क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्ने भने पनि काम हुनसकेको छैन ।

 

 

 

पाँच वर्षअघि एक वर्षभित्र छिटोगतिमा इन्टरनेट सेवा दिने एफटिटिएच विस्तार गरिने भने पनि काम धेरै सुस्तगतिमा भएको ग्राहकको गुनासो छ ।