सर्वोच्चमा सुरु भयो गोला प्रथा तर पहिलो दिन नै सुनुवाइ प्रभावित

काठमाडौं। बुधबारबाट सुरु भएको गोला प्रथाको पहिलो दिन नै सर्वोच्चमा सुनुवाइ प्रभावित भएको छ ।कानुन व्यवसायीले प्रधानन्यायाधीशको विषयमा अन्योलता छाएको भन्दै विरोध जनाए पछि बुधबारको इजलासमा सुनुवाइ प्रभावित भएको हो ।

 

 

कानुन व्यवसायीले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायम मुकाय प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको जनाएका थिए । बुधबार प्रधानन्यायाधीशको अनुपस्थितीमा अर्को प्रधानन्यायाधीश नभएको भन्दै विरोध जनाएका हुन् ।

 

 

कानुन व्यवसायीले यो विषय निराकरण नगरी मुद्दाको सुनुवाइ गर्न नहुने भनेपछि सुनुवाइ प्रभावित भएको हो ।

 

 

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको विषयमा अन्योलता भएकाले यो अन्योलता नसिद्धिएसम्म सुनुवाई गर्न नहुने बताए ।

 

 

संविधानको धारा १२९ को ९६० मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीश भई काम गर्ने व्यवस्था छ ।

 

 

तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचाररत छन् । उनी अस्पतालमा उपचाररत रहेको विषयमा सर्वोच्च अदालतमा आधिकारिक जानकारी गराएका छैनन् ।

 

 

 

न्यायाधीशहरुले गोलाप्रथाबाट इजलास गठन गरेर मुद्दा सुनुवाइ गर्न थालेपछि नेपाल बारका अध्यक्ष श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले इजलासमा प्रवेश गरी प्रधानन्यायाधीशको अन्योलताको विषयमा बोलेका थिए ।

 

 

 

पहिलो दिन दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् । न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

 

 

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका थिए ।

 

 

 

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

 

 

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ । अर्का न्यायाधीश डा। कुमार चुडालको एकल इजलास गठन भएको छ ।

 

 

त्यसैगरी डा। आनन्दमोहन भट्टराई र डा। मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।

 

 

 

प्रकाशमानसिंह राउत र हरि फूयालको अर्को इजलास गठन भएको छ । अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।