सभापतिमा संस्थापन इतर सहमतिनजिक

काठमाडौं। नेपाली कांग्रेस संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार चयनका लागि सहमतिनजिक पुगेको दाबी गरेका छन्।

 

 

महाधिवेशन सुरु हुनु तीन दिनअघि मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको इतर पक्षको बैठक साझा उम्मेदवार तय गर्न सहमतिनजिक पुगेको दाबी नेताहरूले गरेका हुन्।

 

 

नेता रामचन्द्र पौडेललाई १४औं महाधिवेशनमा पनि सभापतिको प्रत्याशीका रुपमा प्रस्तुत गर्न अन्य आकांक्षी लचक देखिएको निकट स्रोतको दाबी छ।

 

 

तर बुधबार बिहान केन्द्रीय सदस्य, जिल्ला सभापति,निवर्तमान जिल्ला सभापति, प्रदेश समितिका सभापति र उम्मेदवारका आकांक्षीसहितका नेताहरूको धारणा सुनेपछि साँझ साझा उम्मेदवार घोषणा गर्ने नेताहरूले बताएका छन्।

 

 

बिहान ९ बजे बत्तीसपुतलीस्थित अनुपम फुड ल्यान्डमा पौडेलले आफ्नो समूह निकट जिल्ला नेताहरूको धारणा सुन्नेछन्।

 

सभापतिका अन्य तीन आकांक्षी शशांक कोइराला,प्रकाशमान सिंह र शेखर कोइराला भने सो भेलामा सहभागी हुनेछैनन्।

 

 

‘रामचन्द्र दाइलाई कि तपाईंले उम्मेदवार को हो भनेर तोक्नुहोस्, होइन भने अन्य आकांक्षीलाई मिलाएर उम्मेदवार बन्न अग्रसरता लिनुहोस् भनेका छौं,’उनी निकट एक नेताले भने,‘उहाँले सहमतिका लागि अग्रसरता लिनुभएको छ। बुधबारसम्म सहमतिमा पुग्छौं।’

 

 

बैठकमा साझा उम्मेदवार दिन नसके महाधिवेशनपछि सबैको अवस्था कमजोर हुने निष्कर्षमा नेताहरू पुगेका थिए।

 

 

पौडेल निकट ती नेताले भने,‘सबैले अपनत्व लिनेगरी साझा उम्मेदवार तोक्नेछौं। बुधबार बिहान जिल्लाका साथीहरूको कुरा सुनेपछि निर्णय हुन्छ।

 

 

मंगलबार केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि सभापतिका आकांक्षीसहितका प्रभावशाली नेताहरू दुईपक्षीय र बहुपक्षीय छलफलमा जुटेका थिए।

 

 

 

छलफलका क्रममा महामन्त्री शशांक कोइरालाले सहमतिका लागि आफू बाधक नबन्ने भन्दै अन्य आकांक्षीलाई आआफ्नो अडानबाट पछि हट्न आग्रह गरेका थिए।

 

 

 

साझा उम्मेदवार दिन नसके वर्तमान सभापति शेरबहादुर देउवा पहिलो चरणको निर्वाचनबाटै फेरि नेतृत्वमा चयन हुने तर्क नेताहरूले गरेका थिए।

 

 

सभापतिका दुई आकांक्षीहरू प्रकाशमान सिंह र शेखर कोइरालाबीच एकजना उम्मेदवार हुन तयार रहे नेता रामचन्द्र पौडेल र आफूले नेतृत्वको दाबी छाड्ने शशांकले बताएका थिए।

 

 

 

दुई नेताबीच सहमति निर्माण नभए पौडेललाई सभापतिमा स्वीकार गरेर अघि बढ्न उनले प्रस्ताव गरेको स्रोतको दाबी छ।

 

 

शशांकलाई उद्धृत गर्दै एक नेताले भने, ‘रामचन्द्रजीले पनि एकपटक मेरा लागि छोडिदिनु भन्नुभएको छ। अरु मिलेमा उहाँले पनि छोड्ने बताउनुभएको छ।

 

 

 

होइन भने उहाँलाई अघि बढाऊँ।’आफ्नो नाममा अन्य आकांक्षी सहमत भए सभापतिका लागि प्रतिस्पर्धा गर्न आफू तयार रहेको पनि शंशाकले बताएका थिए।

 

 

तर शेखर कोइराला र प्रकाशमान सिंहले भने सभापतिमा दाबी छाडिनसकेको स्रोतले बतायो। ‘उहाँहरू पनि साझा उम्मेदवार बनाउनुपर्छ भन्नेमा एकमत देखिनुभएको छ,’ बैठकमा सहभागी अर्का एक नेताले भने,‘एकअर्कालाई मिलाउन नसके उहाँहरूले छाड्नुपर्‍यो। दुई नेताको इगोले सिंगो मुलुक र पार्टीलाई बरबाद बनाउन पाइँदैन।

 

 

 

बैठकपछि नेता पौडेलले इतर पक्षबाट साझा उम्मेदवारीको विषय टुंगिएको दाबी गरे। केही प्रक्रिया पूरा गरेर बुधबार साँझसम्म निर्णय सार्वजनिक गर्ने दाबी गर्दै उनले पत्रकारसँग भने, ‘कांग्रेसको रुपान्तरण चाहने विचार समूहमा हामीले विभिन्न कोणबाट छलफल गर्‍यौं।

 

 

 

हामी सहमतिको निकै नजिक पुगेका छौं। भोलि बुधबार सम्म केही प्रक्रिया पूरा गरेर निर्णय बाहिर आउँछ।’ त्यसअघि बिहान युवा नेताको भेलाले साझा उम्मेदवार बनाउन दबाब दिने निर्णय गरेको थियो।

 

 

 

संस्थापन पक्षबाट भने देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अन्य पदाधिकारी टुंगो लागेको छैन।नागरिक दैनिकमा खबर छ।