म्याग्दीमा हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं।म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा दुई दिनदेखिको वर्षा र हिमपातका कारण टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

 

 

 

मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

 

 

हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ,’ अध्यक्ष छन्त्यालले भने ।

 

 

त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् ।

 

 

धौलागिरि पदमार्गले समेटिएको बगर, सिंकोसलगायतका बस्तीमा घरका छाना ढाकिएका छन् भने जमिन पूरै ढाकिएको छ ।

 

रुखसमेत हिउँले सेताम्मे बनेका छन् ।हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेका छन् ।

 

 

बुधबार म्याग्दीको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । घर र हिँड्ने बाटो पनि हिउँले पुरिएपछि स्थानीयवासीलाई निकै सकल भएको मुदीका बलबहादुर विकले बताए ।

 

 

 

समुद्री सतहदेखि तीन हजार २२० मिटर उचाइमा अवस्थित जिल्लाको अतिविकट मानिने गूर्जा गाउँ तथा आसपासका क्षेत्र भारी हिमपात भएको छ ।

 

 

 

गुर्जा गाउँ आसपासमा आवतजावत गर्ने पदैलमार्गमा समेत छपक्कै हिमपात छोपेका कारण गाउँको जनजीवन कष्टकर बनेको छ ।चिसो र हिमपातले बालबालिका, वृद्धवृद्धालाई जोखिम मुस्किल भएको छ ।

 

 

 

गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा समेत हिमपात भएपछि आवतजावतसमेत रोकिएको छ ।गूर्जामा लगातार हिमपात भए करिब चार फिटसम्म हिउँ जम्ने गरेको छ ।