काठमाडौं उपत्यकाका सीडीओहरुको बैठक बस्दै, स्मार्ट लकडाउन गर्ने तयारी

काठमाडौं ।काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ ।कोरोनाभाइरस संक्रमणको रोकथामबारे छलफल गर्नका लागि तत्काल कदम चाल्न प्रधानमन्त्रीको अध्यक्षतामा हिजो बसेको कोभिड संकट व्यवस्थापन केन्द्र समन्वय समिति (सीसीएमसी)ले निर्देशन दिएलगत्तै उपत्यकाका सीडीओहरु बैठक बस्न लागेका हुन् ।

 

 

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्नु अघि आइतबार तीन जिल्लाको डीसीसीएमसीको बैठक बस्दैछ । भोलि नै तीनै सीडीओले स्वास्थ्य मन्त्रालयसँग छलफल गर्दैछन् ।

 

 

आइतबार नै सीसीएमसीको बैठक पुनः बस्ने तयारी छ । स्वास्थ्य मन्त्रालयले भोलि नै कोरोनाको पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने भएको छ ।

 

 

त्यसपछि गृह मन्त्रालयसँग समन्वय गरेर तीनै सीडीओले स्मार्ट लकडाउन कार्यविधि अनुसार संक्रमण रोकथामबारे निर्णय गर्ने भएका छन् ।

 

 

एकैपटक सबै क्षेत्र बन्द नगरी बढी भीडभाड हुने क्षेत्रहरु यातायात, मालपोत, स्कुल, कलेज, सिनेमा घर, क्लबलाई बन्द गर्नेबारे छलफल हुने बताएका छन्  जिल्लाभित्रको परिस्थितीबारे समीक्षा गरेर भीडभाड हुने क्षेत्रलाई कसरी व्यवस्थित गर्नेबारे टुंगो  लाग्ने छ।

 

 

 भोलिको डीसीसीएमसी बैठकमा हामीले खोपलाई तीव्रता दिने, स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्नेदेखि नाकामा कडाइ गर्नेसम्मको छलफल हुने बताइएकाे छ।  

 

 

  सीसीएमसी बैठकपछि संचारकर्मीसँग कुरा गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्मार्ट लकडाउनमा जानेबारे छलफल भएको बताएका थिए । उनले भीडभाड हुने क्षेत्रहरु समेत बन्द गर्न सकिने बताएका छन्।