राजतन्त्रबारे राप्रपा पार्टीभित्र तीन धार

काठमाडौं। एकता महाधिवेशन गरेको एक महिना बित्दानबित्दै राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र तीन धार देखापरेको छ।

 

मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको राप्रपाका नेतामा राजतन्त्र र राजालाई हेर्ने विषयमा मतभेद देखिएको हो।

 

 

अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता सडक आन्दोलन गरेर भए पनि संवैधानिक राजतन्त्र स्थापनाको पक्षमा देखिएका छन्।

 

 

 

निवर्तमान अध्यक्ष कमल थापा राजतन्त्रको विपक्षमा देखिएका छन्। उनले पार्टीहरूको आन्तरिक जीवनमा पूर्वराजाले नांगो हस्तक्षेप गरेर राजनीतिभन्दा माथि बस्न नसकेको आरोप लगाएका छन्।

 

 

 

उपाध्यक्ष बुद्धिमान तामाङसहितका केही नेता अध्यक्ष र निवर्तमान अध्यक्ष दुवैको धारणा अतिवादी रहेको भन्दै राप्रपा हिन्दु राष्ट्रसहितको आलङ्कारिक राजतन्त्रको पक्षमा उभिनुपर्ने पक्षमा छन्।

 

 

पुरानै अवस्थाको राजतन्त्र र राजतन्त्रबिनाको राप्रपा दुवै असम्भव रहेको भन्दै तामाङसहितका नेता मध्यमार्गमा उभिएका हुन्।

 

 

निवर्तमान अध्यक्ष थापा पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेबाट पार्टी एकता र हिन्दु राष्ट्रका लागि अभियान सञ्चालनको तयारीमा थिए।

 

 

कोरोना भाइरस संक्रमण तीव्र हुँदै गएको भन्दै थापाले अभियान केही समय रोकिएको जनाएका छन्।

 

‘पुस २७ मा सुरु गर्न लागिएको राष्ट्रिय एकता अभियान केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरूबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेका कारण समेत सो अभियान हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ,’ उनले लेखेका छन्।

 

 

 

 

अभियानका विषयमा थापाले बुधबार राजधानीको तिलगंगामा निकट नेताहरूको भेला राखेर सहयोग मागेका थिए। हिन्दु राष्ट्र, मुलुकको संस्कृति, परम्पराको संरक्षण र पार्टी एकताका लागि अभियान सञ्चालन गर्न लागेको बताएका थापाले आवश्यक परे नयाँ पार्टी खोल्ने संकेत गरेका छन्।

 

 

 

‘संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने उहाँ थापाले बताउनुभयो,’ भेलामा सहभागी एक नेताले भने, ‘पूर्वराजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नुपर्छ भन्ने नभएको आशय थियो।

 

 

 

 

स्थानीय निर्वाचनअघि आवश्यक परे नयाँ पार्टी स्थापना गर्न सकिने थापाले बताएको अर्का एक सहभागीले जानकारी दिए। उनले भने, ‘स्थानीय तहको निर्वाचनअघि नयाँ पार्टी खोल्ने उहाँको आशय देखिन्छ। त्यो पनि राजा र राजतन्त्रबाहेकको पार्टी।

 

 

 

भेलामा सहभागी केहीले थापाको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रजस्तै अर्को पार्टी बनाएर हिँड्न नसकिने धारणा राखेका छन्।

 

 

 

 

पार्टीलाई एकताबद्ध बनाएर राप्रपालाई नै अघि बढाउनुपर्ने भन्दै उनीहरूले हिन्दु राष्ट्र र राजतन्त्रबाहिर गएर संगठन गर्ने र पार्टी बनाउने कुरामा पनि सहयोग गर्न नसकिने धारणा राखेको स्रोतले बतायो।

 

 

 

पार्टी एकता बलियो बनाउन थापाले सञ्चालन गर्ने अभियानलाई सहयोग गर्ने तर पार्टी विभाजन वा नयाँ पार्टी स्थापनाको पक्षमा उभिन नसक्ने धारणा अधिकांश सहभागीले राखेका थिए। नागरिक दैनिकमा खबर छ।