मन्त्रालयको निर्णयसँगै,शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल हुने

काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ ।

 

 

अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा लिएर वैशाखबाट नयाँ शैक्षिकसत्र शुरू गर्ने तयारी गरिरहेकोमा फागुन अन्तिमदेखि विद्यालय स्तरमा हुने परीक्षा पूर्ण प्रभावित हुने देखिएको छ ।

 

 

स्थानीय तहले सञ्चालन गर्ने कक्षा ८, राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १० को एसईई, ११ र १२ को परीक्षा तालिकामा समेत असर पर्ने सम्भावना देखिएको छ ।

 

 

मुलुकभर कोभिड संक्रमण बढ्दै गएपछि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

 

 

सीसीएमसीको निर्णय कार्यान्वयन गर्दै मन्त्रालयले आज मंगलबारबाट माघ १५ सम्म विद्यालयको आधारभूतदेखि माध्यमिक विद्यालय तह ९कक्षा १२० सम्मको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

 

 

 

मन्त्रालयको निर्णयले आजबाट देशभरका २९ हजार सामुदायिक र ७ हजार निजी गरी करिब ३६ हजार विद्यालयको पठनपाठन बन्द हुने भएको छ ।

 

 

 

कोरोना संक्रमणको कारण देखाउँदै सरकारले अन्य बिदामा मिलान गर्ने गरी विद्यालय बन्द गर्न निर्देशन दिएसँगै शैक्षिकसत्र धकेलिने भएको छ।

 

 

शिक्षा तथा मावन स्रोत विकास केन्द्रले शैक्षिकसत्र सार्ने वा वैशाखमै गर्ने भन्ने विषयमा छलफल चलाइरहेको अवस्थामा विद्यालय बन्द भएपछि आगामी शैक्षिकसत्र केही महिना पछि सर्ने निश्चित प्रायः छ । चालु शैक्षिकसत्र जेठदेखि शुरु भएको थियो ।

 

 

केही विद्यालयले कक्षा ११ र १२ को परीक्षा सञ्चालन गरिरहेका छन् । ती परीक्षा स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न समस्या नपर्ने मन्त्रालयले जनाएको छ ।

 

 

 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई, कक्षा ११ र १२ को परीक्षा कहिले गर्ने भन्ने विषयमा छलफल शुरू गरिएको जानकारी दिँदै भन्नुभयो– ‘परीक्षा नहुने होइन, कहिले र कुन मोडलमा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

 

 

 

उहाँले विद्यालयहरू १५ दिन बन्द हुँदैमा परीक्षा नसर्ने तर त्यसपछि फेरि बन्द भयो भने के गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । परीक्षालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषय महत्वपूर्ण रहेको अध्यक्ष शर्माको भनाइ छ ।

 

 

 

कोभिड संक्रमणका कारण गत वर्षको एसईई परीक्षा विद्यालयलबाटै भएको थियो । सोही आधारमा विद्यालयले आन्तरिक मूल्यांकनको नम्बर बोर्डमा पठाएका थिए र त्यसैलाई आधार मानी बोर्डले लब्धाङ्कपत्र प्रदान गरेको थियो ।

 

 

 

बोर्डले एसईई परीक्षा तालिका र समय सार्वजनिक गर्नै लाग्दा विद्यालयहरू बन्द भएपछि अब कहिलेबाट परीक्षा गर्ने भन्ने विषयमा पुनः छलफल गर्नुपर्ने भएको छ ।

 

 

 

संसद्को शिक्षा समितिले शिक्षा ऐनमा उल्लेख भएको विषयलाई नबुझेर एसईई परीक्षा खारेज गर्न मन्त्री देवेन्द्र पौडेललाई निर्देशन दिएको थियो। ऐनमा भएको व्यवस्थाका कारण एसईई खारेज गर्न नसकिने भएपछि बोर्डले केन्द्रबाट गर्ने गरी तयारी गरेको थियो ।

 

 

कोरोना संक्रमणको कारण परीक्षा लिने विषयमा स्थानीय तहले सहयोग गर्ने जानकारी दिँदै बोर्डका अध्यक्ष शर्माले भन्नुभयो– ‘हामी बोर्डको अधिकारअनुसार सबै परीक्षा गर्नेछौं ।

 

 

तर कहिले र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नेछौं ।’ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले परीक्षा र शैक्षिकसत्र कहिलेबाट शुरू गर्ने भन्ने विषयमा प्रारम्भिक छलफल भएको जानकारी दिँदै भन्नुभयो– ‘१५ गतेसम्म विद्यालय बन्द भएका छन् ।

 

 

 

फेरि यस्तै अवस्था आएमा सोचौंला ।’ मन्त्रालयले सोमबार जारी गरेको सूचनामा अहिले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न आग्रह गर्दै भनेको छ– ‘बिदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका–२०७७ ले गरेको व्यवस्थाबमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू ।

 

 

मन्त्रालयले विश्वविद्यालयका शैक्षिक प्रतिष्ठानहरूको पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षाका कार्यक्रमहरूमा जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरू पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

 

 

 

जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।त्यस्तै, देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले सातबुँदे निर्देशन दिएको छ ।

 

 

 

बिदाको निर्णय गरेसँगै मन्त्रालयले विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोही पनि नछुट्ने गरी खोप लगाउने अभियानमा आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ ।

 

 

 

अनिवार्य खोप लगाएका विद्यार्थीले माघ ७ देखि शिक्षण संस्थामा प्रवेश गर्दा अनिवार्य रूपमा खोप कार्ड साथमा राख्ने प्रबन्ध सम्बन्धित शिक्षण संस्थाले मिलाउने गरी बाध्यकारी व्यवस्था गरेको छ ।

 

 

 

मन्त्रालयले १८ वर्षभन्दा माथिका विद्यार्थी र शिक्षक तथा कर्मचारीले पनि खोपका लागि स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

 

 

 

मन्त्रालयले अभिभावक दिवस वा वार्षिक उत्सवजस्ता सार्वजनिक कार्यक्रम नगर्न पनि निर्देशन दिएको छ ।नेपाल समाचारपत्रबाट,