एनआरटीद्वारा जावलाखेल युथ क्लबलाई २–० ले पराजित गर्दै,मध्य सिजनको सुखद अन्त्य

काठमाडौं। मिडफिल्डर दर्शन गुरुङको दुई गोलप्रेरित न्युरोड टिम (एनआरटी)ले सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई २–० ले निराश पार्दै मध्य सिजनको सुखद अन्त्य गरेको छ।

 

 

एनआरटीले नवौं चरणको समाप्तिमा १३ अंक जोड्दै छैटौं स्थानमा बसेर मध्यसिजनको अन्त्य गरेको हो। ६९औं मिनेटमा दर्शनले गरेको गोलमा एनआरटीले अग्रता लिएको थियो।

 

 

 

स्ट्राइकर स्टेफिन बिनाङको पासलाई दर्शनले सहजै जाली चुमाएका थिए। त्यसको चार मिनेटपछि नै दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारेका थिए।

 

 

 

दर्शनको दोस्रो गोलका लागि पनि बिनोङले नै पास उपलब्ध गराएका थिए। एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले टोलीको लक्ष्य शीर्ष चार भए पनि टोलीले त्यसअनुसारको प्रदर्शन गर्न नसक्दा अब तालिकाको मध्य स्थानमा रहने बताए।

 

 

 

मुख्य प्रशिक्षक राजुकाजी शाक्य भने अस्वस्थ भएपछि सोमबार मैदानमा उपस्थित भएनन्। ‘हामीले शीर्ष चारको लक्ष्य लिए पनि सुरुआती केही खेलमा सोचे अनुरूपको नतिजा नल्याउँदा अब त्यो लक्ष्य कठिन बनिसकेको छ,’ जीवनले भने।

 

 

 

जीवनले जावलाखेलविरुद्ध तीन अंक जोड्ने लक्ष्यका साथ आएकाले सो लक्ष्य पूरा भएको बताए। ‘हामी आज ३ अंकका लागि आएका थियौं, त्यो लक्ष्य पूरा भयो,’ उनले भने, ‘टोलीले पाएका अवसर सदुपयोग गर्दा सहज जित निकाल्यौं।’ जावलाखेल भने ९ खेलमा ८ अंकसहित १०औं स्थानमा यथावत् छ।

 

 

जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले एनआरटी राम्रो टोली भएकाले उनीहरूविरुद्ध कम्तीमा १ अंक लिदै मध्यसिजनको अन्त्य गर्ने लक्ष्यले पूर्णता नपाएको बताए।

 

 

हामी आज एनआरटीविरुद्ध कम्तीमा १ अंक लिने उदेश्यले आएका थियौं,’ केसीले भने, ‘टोलीले पहिलो हाफमा विपक्षीलाई गोलरहित बराबरीमा रोक्दै त्यो लक्ष्य प्राप्तिको संकेत गरेको थियो तर दोस्रो हाफमा खेलाडीले आफ्नो स्वाभाविक लय नै बिर्सिएको जस्तो प्रदर्शन गरे।

 

 

 

एनआरटीले खासै राम्रा अवसर सिर्जना गर्न सकेन। त्यही पाएको दुई अवसरको सदुपयोग गर्दै हामीसँग ३ अंक लियो।

 

 

हामीले भने पाएका केही सुनौला अवसरको सदुपयोग गर्न सकेनौं।’ प्रशिक्षक केसीले टोलीका दुई खेलाडीमा कोभिड १९ संक्रमण पुष्टि भएकाले प्रशिक्षणमा असर परेको समेत बताए।

 

 

 

केसीले विश्रामपछि टोलीले थप सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। अन्तर्राष्ट्रिय विश्रामका कारण १०औं चरणका खेल माघ अन्तिम साताबाट सुरु हुने एन्फाले जनाएको छ।