पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले जलाए प्रधानमन्त्री देउवाको पुत्ला

काठमाडौं । विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन्।काठमाडौंको अस्कल क्याम्पस परिसरमा प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

 

 

विद्यार्थीहरुलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । विद्यार्थीहरुले भने प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । अहिले भने स्थिति सामान्य रहेकाे छ ।

 

 

पुत्ला जलाउनु अघि विद्यार्थीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।

 

 

नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३/३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

 

 

नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ भने डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।

 

 

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको निगमले जनाएकाे छ ।