काभ्रेमा अत्यावश्यक बाहेकका सेवा आइतवारदेखि बन्द

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि ६ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जानकारी दिएको छ ।

 

 

 

शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।

 

 

 

संक्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जानकारी दिइएको छ ।

 

 

 

जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् ।

 

 

 

नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले शुक्रवारदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जानकारी दिएको छ ।

 

 

 

नगरका उपसचिव जनार्दन रिजालले कोरोना संक्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् ।

 

 

 

यस्तै रोशी गाउँपालिकाले आफ्ना कर्मचारी कोरोना संक्रमित भएपछि बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जानकारी दिएको छ ।

 

 

 

प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जानकारी दिइएको छ ।

 

 

 

चौँरीदेउराली गाउँपालिकाले बुधवारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ ।

 

 

 

सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना संक्रमित रहेका छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ जना संक्रमित छन् ।

 

 

 

यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना संक्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा संक्रमण देखिएको थियो ।

 

 

 

जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ संक्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक संक्रमितको मृत्यु भएको हो । हालसम्मका कुल संक्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ संक्रमणमुक्त भएका हुन् । रासस