केएमसी र नोबेलको सम्बन्धन खारेज गर्न संयुक्त विद्यार्थी संगठनको माग (वक्तव्यसहित)

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ ।

 

 

मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताहरूले साे माग गरेका छन् ।

 

 

 

विद्यार्थी संगठनका नाममा आन्दोलन गरिरहेका आठ विद्यार्थी संगठनले जनकपुरको युथ क्याम्पसको खारेज गरिएको सम्बन्धन भने फिर्ता गर्न माग गरेका छन्।

 

 

 

मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी) ,नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल नेपाल विद्यार्थी युनियनलगायत संगठनमा आबद्ध विद्यार्थीहरूले मेडिकल कलेजका विद्यार्थीलाई अन्याय भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

 

 

 

चिकित्सा शिक्षा अध्ययनका लागि २०७८ को नयाँ भर्ना गर्ने क्रममा नोबेल र केएमसीले प्रतिव्यक्ति झन्डै पाँच लाख बढी रुपैयाँ उठाएको, ऐच्छिक छात्रवासलाई अनिवार्य गरेको र कलेजको नेतृत्वसँग कुरा गर्दा विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई देखाएर पन्छने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।

 

 

 

मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलका अनुसार कलेज प्रशासनले माग पूरा गर्ने छाँट नदेखाएपछि विद्यार्थी संगठनहरू उपकुलपतिको ध्यानाकर्षण गराउन पुगेकाे बताए । विद्यार्थीहरूको माग सम्बोधन गराउने र आन्दोलन अन्त्य गराउने बारेमा उपकुलपति थापा सकारात्मक देखिनुभएको छ, अध्यक्ष गजुरेलले भने ।

 

 

 

विश्वविद्यालयको ध्यानाकर्षण गराएका विद्यार्थी संगठनहरूले आफ्नो आन्दोलनमा ऐक्यबद्धता र सहभागिताका निम्ति नागरकि समाज र अभिभावकलाई समेत अपिल गरेका छन् ।

 

 

 

  मेडिकल शिक्षाको सुधार र मेडिकल माफियाविरुद्धको आन्दोलन भएकाले देशभरका मेडिकल विद्यार्थीहरू, अभिभावक, पत्रकार, नागरिक समाजलगायत सबैमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ, आठ विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

 

 

 

मोहन वैद्यनिकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल,नेविसंघ अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव विद्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैटौँका देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईलगायतले विज्ञप्तिमा हस्ताक्षेर गरेका छन् ।