वडा कार्यालयका दुई महिला कर्मचारीलाई कार्यकक्षभित्रै बन्धक बनाएर मार्ने धम्की,६ जना पक्राउ

काठमाडौं। दैलेखको दुल्लु नगरपालिका–९ को वडा कार्यालयमा कार्यरत दुई महिला कर्मचारीलाई स्थानीयले पाँच घण्टा बन्धक बनाएका छन्।

 

 

कार्यकक्षभित्र काम गरिरहेका कर्मचारीहरूलाई बन्धक बनाएर गालीगलौज र अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पीडित कर्मचारीले बताएका छन्।

 

 

 

वडा सचिव रत्ना गिरि र सामाजिक परिचालक भगवती न्यौपानेलाई स्थानीय प्रेमबहादुर भण्डारीसहितको टोलीले कार्यालयमै पुगेर बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बन्धक बनाएका हुन्।

 

 

 

वृद्धभत्ताको कार्ड नामसारी गर्ने विषयमा विवाद भएपछि उनीहरुलाई बन्धक बनाइएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

 

 

 

कर्मचारीले कानुनविपरीतको काम गर्न नमिल्ने भनेपछि उनीहरूले बन्धक बनाएका बताइएको छ। घटनाबारे खबर पाएपछि सुरक्षाकर्मीको टोली वडा कार्यालय पुगेर बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको थियो।

 

 

 

कर्मचारीलाई उद्धार गर्न जाँदा केही स्थानीयले प्रहरीमाथि नै ढुंगामुडा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।

 

 

 

घटनामा संलग्नमध्ये मुख्य योजनाकार प्रेमबहादुर भण्डारी फरार रहेका छन् भने अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।