धनुषामा स्थानीय व्यवसायी र प्रहरीबीच झडप,दुईजना घाइते

काठमाडौं। धनुषामा स्थानीय र प्रहरीबीच झडप भएको छ। जिल्लाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा रहेको पसलमा गएराति आगजनी भएको विषयमा स्थानीयहरुले सडक अवरुद्ध गरेपछि झडप भएको हो।

 

 

स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए।

 

 

झडपको क्रममा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीतर्फ एकजना र प्रहरीतर्फ एकजना घाइते भएको उनले बताए।

 

 

शनिबार राति स्थानीय सन्तोषकुमार मण्डलले सञ्चालन गरेको शान्ता पान पैलेसमा आगजनी भएको थियो। ५० मिटर नजिकै रहेको तीनकौरिया प्रहरी चौकीले राति गस्ती नगर्दा अज्ञात समूहले आगजानी गरेको स्थानीयको आरोप छ।

 

 

आगलागीले किरानाको समान तथा कपडासमेत जलेर १० लाख बढीको क्षति भएको छ।

 

 

 

झडपपश्चात अहिले अवस्था सामान्य रहेको छ। अहिले नगरपालिकामा मेयरको उपस्थितिमा प्रहरी, सम्बन्धित व्यक्तिहरुबीच वार्ता भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।