घाटा चुलिएसँगै आयल निगमको सरकारी कोष रित्तियो

काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।

 

 

 

निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरेसन ९आईओसी०ले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा निगमको सरकारी कोष रित्तिएको बताए ।

 

 

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको असर

 

 

‘निगमले पछिल्ला दिनमा घाटा बेहोर्नुपरिरहेको छ, घाटा बढ्दै जाँदा आफूलाई आवश्यक पर्ने रकम निगमले यही कोषबाट खर्च गर्दै आएको थियो । अब त सो कोष पनि रित्तियो,’ सह प्रवक्ता कार्कीले भने ।

 

 

 

उनले चालू आर्थिक वर्ष सुरु भएपछि नै निगमलाई घाटा लाग्न थालेपछि मूल्य स्थिरीकरण कोषमा रकम जम्मा हुन नसकेको र उल्टै कोषबाट रकम झिक्दै जानुपर्ने बाध्यता आइपरेको बताए ।

 

 

 

पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको भाउ लगातार बढेर भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकमसमेत पठाउन नसकिएकाले बाध्यतावश निगमले यो कोषको रकम चलाउनुपरेको उनले बताए ।

 

 

 

कार्कीले भारतीय आयल कर्पोरेसनले मागेको बेला यहाँबाट रकम नपठाए उसले इन्धन दिनै बन्द गर्ने भएकाले निगमले यो कोषको रकम चलाउनुपरेको प्रस्ट पारे ।

 

– अझै निगमको मासिक घाटा ९ अर्ब २७ करोड रुपैयाँ

 

– चालू आर्थिक वर्षको हालसम्मको नोक्सानी ३३ अर्ब रुपैयाँ नाघ्यो

 

– शुक्रबार मात्र भारतीय आयल कर्पोरेसनलाई १९ अर्ब ४७ करोड रुपैयाँ पठाइयो

 

 

 

भारतीय आयल कर्पोरेसनलाई तिर्न बाँकी रकम आफूहरूले निरन्तर पठाइरहेको निगमले जनाएको छ ।सोहीअनुरूप निगमले शुक्रबार मात्र भारतीय आयल कर्पोरेसनलाई १९ अर्ब ४७ करोड रुपैयाँ पठाएको छ । जसमा ४ अर्ब २० करोड रुपैयाँ यही मूल्य स्थिरीकरण कोषबाट झिकेर पठाइएको निगमले जनाएको छ ।

 

 

 

भारतीय आयल कर्पोरेसन (आईओसी)लाई तिर्न बाँकी रकम भुक्तानी गर्न नपुगेपछि सरकारी कोषबाट सो रकम झिकेर पठाएको निगमले बताएको छ ।

 

 

निगमले हाल मासिक ९ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी रहेको जनाएको छ । दैनिक व्यापार घाटा बढेको भन्दै निगमले पछिल्लो डेढ महिनायता हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ ।

 

 

 

निगमले प्रतिलिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पु¥याइसकेको छ । यसैगरी, एक सिलिन्डर ग्यासको १ हजार ६ सय रुपैयाँ पु¥याइएको छ ।

 

 

 

घाटा बढ्दै गएपछि निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने र आइतबार पनि सार्वजनिक बिदा दिने प्रस्ताव सरकारसमक्ष गरिसकेको छ । निगमको यस्तो प्रस्तावलाई सरकारले मन्त्रिपरिषद्बाट मात्र निणर्य गर्न पाउने व्यवस्था छ ।

 

 

 

गत २२ चैतमा पछिल्लोपटक बढाएको मूल्यवृद्धिपछि पनि अझै निगमले आफ्नो मासिक घाटा ९ अर्ब २७ करोड रुपैयाँ हुने अनुमान गरेको छ ।

 

 

यसैगरी, निगमले चालू आर्थिक वर्षको हालसम्मको नोक्सानी करिब ३३ अर्ब रुपैयाँ नाघिसकेको जनाएको छ ।राजधानी दैनिकबाट