सुदूरपश्चिममा पाँच वर्षमा १ लाख ९६ हजार बढी नयाँ मतदाता थपिए,मतदान स्थल र केन्द्र कुन जिल्लामा कति ?

 काठमाडौं। आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता कायम भएका छन् ।

 

 

वि.सं.२०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यो प्रदेशका नौ जिल्लामा १४ लाख ३५ हजार ६७४ मतदाता रहेका थिए । विगत पाँच वर्षमा एक लाख ९६ हजार ४७६ मतदाता थपिएका हुन् ।

 

 

 

प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार आसन्न स्थानीय तहको निर्वाचनका लागि सबैभन्दा बढी कैलालीमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन्। तीमध्ये दुई लाख ५६ हजार १०४ पुरुष र दुई लाख ६९ हजार १० महिला रहेका छन् ।

 

 

 

सबैभन्दा कम बाजुरामा कूल ८२ हजार ६९० मतदाता छन् । तीमध्ये ४२ हजार १५१ पुरुष र ४० हजार ५३७ महिला रहेका छन् ।

 

 

त्यस्तै दार्चुलामा ४५ हजार १११ पुरुष र ४३ हजार १७४ महिला गरी कूल ८८ हजार २८५, बैतडीमा ७३ हजार ८८३ पुरुष र ७४ हजार ७२१ महिला गरी कूल एक लाख ४८ हजार ६०६, र डडेल्धुरामा ४४ हजार ६६४ पुरुष र ४५ हजार ४५५ महिला गरी कूल ९० हजार ११९ मतदाता रहेका छन् ।

 

 

 

 

यसैगरी कञ्चनपुरमा दुई लाख ९५ हजार ३५४ मतदाता छन् तीमध्ये एक लाख ४३ हजार २४१ पुरुष र एक लाख ५२ हजार ११२ महिला रहेका छन् ।

 

 

डोटीमा ५८ हजार २८२ पुरुष र ६५ हजार २७२ महिला गरी कूल एक लाख २३ हजार ५५४, अछाममा ७५ हजार ८३७ पुरुष र ८० हजार ४४१ महिला गरी कूल एक लाख ५६ हजार २८० र बझाङमा ६१ हजार ३८९ पुरुष र ६० हजार ७४८ महिला गरी कूल एक लाख २२ हजार १३७ मतादाता रहेको बताइएको छ ।

 

 

तेस्रो लिङ्गी मतदातामध्ये कैलालीमा ११ तथा अछाम, बाजुरा र बैतडीमा दुई÷दुई र कञ्चनपुरमा एकजना रहेको छ ।

 

मतदान स्थल र केन्द्र

 

आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि प्रदेशको कैलालीमा २३६ मतदानस्थलमा ६१९ मतदान केन्द्र कायम गरिएको छ ।

 

 

यस्तै कञ्चनपुरमा १३२ मतदानस्थल र ३४१ मतदान केन्द्र, डडेल्धुरमा ८० मतदानस्थलमा १२६ मतदान केन्द्र र बैतडीका १२९ मतदानस्थलमा २०५ मतदान केन्द्र कायम गरिएको छ ।

 

 

 

दार्चुलामा कायम भएका ११० मतदानस्थलमा १३९ मतदान केन्द्र, डोटीका ११५ मतदानस्थलमा १७१ मतदान केन्द्र, बझाङका १३३ मतदानस्थलमा १८३ मतदान केन्द्र, अछामका १३० मतदानस्थलमा २०७ केन्द्र र सबैभन्दा कम मतदाता रहेको बाजुरामा कायम भएका ७० मतदानस्थलमा ११२ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

 

 

 

प्रदेशमा प्रतिनिधिसभाका १६, प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र रहेका छन् । ८८ स्थानीय तह रहेको यो प्रदेशमा एक उपमहानगरपालिका (धनगढी), ३३ नगरपालिका र ५४ गाउँपालिका रहेका छन् । यी पालिकामा जम्मा ७३४ वडा छन् ।

 

 

 

जनसङ्ख्याको दृष्टिले तराईका जिल्ला कैलाली र कञ्चनपुर ठूला छन् । प्रतिनिधिसभाका लागि कैलालीमा पाँच र कञ्चनपुरमा तीन निर्वाचन क्षेत्र रहेका छन् ।

 

 

पहाडी जिल्ला अछाममा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र अन्य छ जिल्लामा एकरएक निर्वाचन क्षेत्र कायम छन् ।

 

 

 

हालैको जनगणनाको प्रारम्भिक तथ्याङ्क अनुसार यो प्रदेशको जनसङ्ख्या २७ लाख ११ हजार २७० पुगेको छ । विसं २०६८ को जनगणनाअनुसार यो प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको थियो ।

 

 

स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन कार्यालयले तयारीको काम तीब्र बनाएको छ । रासस