भरतपुर र पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले अग्रता कायमै राख्नुभएको छ । उहाँले तीन हजार ३१० मतान्तरले अग्रता लिनुभएको छ ।

महानगरपालिकामा ५४ हजार ४२ मत गणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो । दाहालले २० हजार ४९२ मत प्राप्त गर्दा नेकपा ९एमाले० बाट प्रमुखको उम्मेदवार बिजय सुवेदीले १७ हजार १८२ मत प्राप्त गर्नुभएको छ । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ८८२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गर्नु भएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६, ८ र १० मा कांग्रेस, वडा नं ७ र ९ मा नेकपा ९एकीकृत समाजवादी० तथा वडा नं ३ मा एमाले विजयी भएको छ । वडा नं ११ र १२ को मत गणना भइरहेको छ । ती दुवै वडामा एमाले अगाडि रहेको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

पोखरामा पनि आचार्यकै अग्रता

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् । महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का धनराज आचार्यले २६ हजार ४११ मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले० का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २४५ मत प्राप्त गर्नुभएको छ । आचार्यले तीन हजार १६६ मतले अग्रता हासिल गर्नुभएको छ ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६४४ मतसहित अघि हुनुहुन्छ भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५७८ मत प्राप्त गर्नुभएको छ ।