पटकपटक मन्त्री फेरबदलको औचित्य के ?

फाइल तस्वीर

माओवादी केन्द्र तथा नेपाली कांग्रेसका केही नेताहरु समेत मन्त्री परिवर्तनका लागि पार्टी भित्र कुरा उठेको सार्वजनिक अभिव्यक्ति दिएका छन।

 

 

गठबन्धनमा आवद्ध सवैजसो पार्टीहरुको दबाब आउन थालेपछि मन्त्रिमण्डल फेरबदल हुन संभावना बढेको छ ।

 

 

मन्त्रीमण्डल हेरफेरको विषयलाई लिएर गठबन्धन सम्वद्ध दलमा खटपट समेत सुरु भएको छ । तर विनाअर्थ समय समयमा मन्त्री परिवर्तनको कुनै अर्थ नभएको राजनीतिका जानकारहरुको विश्लेषण छ ।

 

 

 

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई नयाँ मन्त्रीहरुको नाम यसअघिनै वुझाइसकेको थियो । यद्यपी केहि समय मन्त्री परिवर्तन गर्न नहुँने सत्ता गठबन्धनको निर्णयले एकीकृत समाजवादीबाट मन्त्रीपरिषदमा सहभागी हुने नयाँ मन्त्रीहरुको सपथ रोकिएको थियो ।

 

 

 

त्यसो त नेपाली कांग्रेस र माओवादी केन्द्रमा समेत मन्त्री परिवर्तन गर्नुपर्ने कुरा उठेको नेताहरुले बताउँदै आएका छन।

 

तर यसरी पटकपटकको मन्त्रीमण्डल हेरफेरले सरकारका कामकारबाही प्रभावित हुने मात्र होइन, राज्यको ढुकुटीमा नै असर पर्ने गरेको राजनीतिक जानकारहरुको भनाइ छ ।

 

 

 

मन्त्री पदकै लागि दौडधुप गर्ने तर पद पाएपछि कुनै भूमिका निर्वाह गर्न नसक्ने नेतृत्वका कारण विगतदेखि नै जनताका महत्वपूर्ण मुद्दाहरु प्रभावित हुँदै आएका छन् ।

 

 

 

यसले सामान्य प्रशासनदेखि उच्च प्रशासनसम्मका कामकारबाही प्रभावित हुने गरेका छन । आम मानिसले पटक पटकको मन्त्री फेरबदलका विषयमा प्रश्न उठाउने गरेको भएपनि राजनीतिक दलका नेताहरु भने यसलाई स्वाभाविक प्रक्रियाका रुपमा लिनुपर्ने बताउँदै आएका छन ।

 

 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको विषय पार्टीको सर्वाधिकार भएको उल्लेख गरेका छन् ।

 

 

केही दिनअघि नेकपा एकीकृत समाजवादीले गरेको मन्त्रीको सिफारिसमा सरकारले यथाशीघ्र पहल थाल्नुपर्ने उनको भनाइ छ ।

 

 

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा रहेका नयाँ सांसद्हरुले मन्त्री बन्ने आकांक्षा रहेको उल्लेख गरे ।

 

 

केही दिनअघि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नामावली सिफारिस गरेको थियो ।

 

 

तर मन्त्रीहरुको नाम सिफारिसबारे बहालवाला मन्त्री र गठबन्धनभित्र टकराव उत्पन्न हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्री फेरबदल गर्ने निर्णयबाट ब्याक भएका थिए ।

 

 

 

गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र पनि मन्त्री फेरबदलको विषयले प्रवेश पाएको छ । यस्तै जनता समाजवादी पार्टीले पनि मन्त्री परिवर्तनको अडान लिइरहेको छ ।

 

 

 

गठबन्धनबाहिर रहेको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने तयारीमो छ । यो देशका जनताका लागि लड्ने कुनैपनि नेताहरु नभएको राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीको आरोप छ ।

 

 

सबै नेताहरु पदकै लागि दौडधुप गरिरहेको र जनताका महत्वपूर्ण मुद्दाहरु ओझेलमा परेको उनले आरोप लगाए ।

 

 

 

पटक पटक हुने मन्त्री फेरवदलले धेरैजनाको मन्त्री हुने रहर त पुरा गर्ला, तर यसले आम मानिसको समस्या सम्वोधनमा कुनै अर्थ राख्दैन ।

 

 

राजनीतिक भागवण्डा मिलाउन समय समयमा गरिने मन्त्री फेरवदलको आम मानिसले समेत विरोध गर्दै आएका छन ।