झापाको बिर्तामोड नगरपालिकाले बनायो पाँच वर्षे आवधिक योजना

काठमाडौं । झापाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ ।

 

 

स्थानीय तह निर्वाचन–२०७९ बाट नवनिर्वाचित जनप्रतिनिध आएसँगै नगरपालिकाले दीर्घकालीन विकासका लागि योजना निर्माण गरेको हो ।

 

 

नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, वनजङ्गल, पर्यटन, व्यापार–व्यवसायलगायतका विविध पक्षलाई समेटेर पाँच वर्षे आवधिक योजना निर्माण गरेको नगरप्रमुख पवित्रा महतारा प्रसाईंले जानकारी दिनुभयो ।

 

 

 

‘उद्योग, व्यापार, स्वास्थ्य, शिक्षा, कृषि, र रोजगारको अभिवृद्धि बिर्तामोड नगरको, विकास र सुशासनसहितको समृद्धि’ नारासहित नगरपालिकाको आगामी कार्ययोजना बनाइएको हो ।

 

 

 

नगरपालिकाले स्वास्थ्यतर्फ चिकित्साशास्त्र अध्ययन गर्न मेडिकल कलेजको स्थापनाका लागि उपयुक्त वातावरण तयार गरी निजी क्षेत्रलाई प्रोत्साहित गर्ने, क्यान्सर, मिर्गौला, आँखा, स्पाइनलकर्ड इन्जुरी, ब्रेन, ग्यास्ट्रोजस्ता सेवा उपलब्ध भएका अस्पताल स्थापना गर्न प्रोत्साहित गर्ने, ज्येष्ठ तथा अपाङ्ग नागरिकका लागि नियमितरुपमा स्वास्थ्य परीक्षण तथा उपचारको लागि घरदैलो सेवा सञ्चालन गर्ने र सोका लागि विशेषज्ञ चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाएको छ ।

 

 

 

 

यस्तै, आर्थिकरुपमा पछाडि परेका समुदायमा स्वास्थ्य सेवाको पहुँच पु¥याउने र बहुक्षेत्रीय पोषणको आवधारणालाई सबै नागरिकसँग आबद्ध गराई स्वास्थ्य समाज निर्माण गर्ने योजना बनाएको छ ।

 

 

 

त्यस्तै, पाँच वर्षभित्र शिक्षातर्फ ९० प्रतिशतभन्दा बढी नगरवासी उच्च शिक्षा हासिल गरेको हुने, माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क हुने, प्राविधिक शिक्षा स्नातकोत्तर तहसम्मको उपलब्ध भएको हुने, सबै बालबालिकाले आधारभूत माध्यमिक विद्यालय गएका हुने लक्ष्य निर्धारण गरेको छ ।

 

 

 

त्यसैगरी, ८० प्रतिशत नगरबासीले पाइपलाइनबाट तथा बाँकी नागरिकले ट्युबेल प्रयोग गरी आधारभूत तहको स्वच्छ तथा सफा खानेपानीसेवा उपलब्ध गराउने, कृषि क्षेत्रलाई उन्नत बनाउन मल, बिउ र प्रविधिसहित विकास गर्दै उत्पादन वृद्धि गर्दै लैजानुका साथै माछा, मासु, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने नगरको योजना छ ।

 

 

 

पाँच वर्षभित्र सडकको स्तरोन्नति गर्दै युटिलिटी कोरिडरसहितको सडक निर्माण, नयाँ निर्माण हुने सडकमा ड्रेन युटिलिटी करिडोरसहित चौबाटोमा ट्राफिक लाइट, आकासे पुल, जमिनमुनीमा सब–वे निर्माण गर्ने र १२५ किलोमिटर सडक कालोपत्रे तथा पेवर्स लगाउने लक्ष्य छ ।

 

 

 

 

त्यस्तै, तीन वटा झोलुङ्गे पुल र ४० वटा थप कल्भर्ट पुल निर्माण गर्ने, सबै घरमा विद्युत् सेवा पु¥याउने, सतह नालासहितको सहरी विकास गुरुयोजना निर्माण गर्ने, नगरपालिकाको नाममा रहेको बुधबारे बजारमा बहुतले पार्किङसहितको सुविधा सम्पन्न भवन निर्माण गर्नेलगायतका महत्वकांक्षी योजना नगरपालिकाले अघि सारेको छ ।

 

 

 

 

यस्तै, औद्योगिक विकासका लागि बिर्तामोड–२ को गोकुल जोशी मार्ग दक्षिण भागलाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्दै लैजाने, नयाँ उद्योग स्थापना सञ्चालनमा उपयुक्त कानुनी संरचना निर्माण गर्ने, औद्योगिक प्रदूषण न्यून गर्न लगाई वातावरणमैत्री बनाउने नगरको आगामी योजना रहेको नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले बताउनुभयो ।