नागरिकता विधेयक अघि बढाउने पाँच दलीय सत्ता गठबन्धनको निर्णय

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।

 

 

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

 

 

उनले कतिपय नागरिकले बुबाआमा नेपाली नागरिक भए पनि नागरिकताविहीन हुनुपरेको भन्दै नागरिकताको समस्यालाई समाधान गर्न सरकार अघि बढेको बताए।

 

 

 

मन्त्री कार्कीले आजको बैठकमा शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि पनि छलफल भएको बताए।

 

 

उनले भने, ‘यो बैठकमा अहिले विकसित राजनीतिक घटनाक्रमको बारेमा विश्लेषण भयो। सम्माननीय प्रधानमन्त्रीजीले नागरिकताको विधेयकलाई अगाडि बढाउने, प्रस्ताव गर्नुभएको छ।

 

 

 

अहिले हाम्रो समाजमा बुवा नागरिक, आमा नागरिक, तर उनीहरुका सन्तान नागरिकताविहीन भइरहेको अवस्था छ।

 

 

यसलाई अन्त्य गर्नको निमित्त अग्रसरता लिनका निमित्त आज निर्णय भएको छ।

 

 

 

मन्त्री कार्कीले थपे, ‘शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउनका लागि छलफल केन्द्रित भएको छ।

 

 

 

त्यसमा कानुनमन्त्रीले शान्ति प्रक्रियाको बारेमा अहिलेसम्म भएका नियमनहरुको बारेमा बैठकमा प्रगति परिस्थितिको बारेमा प्रतिवेदन समीक्षाका साथ प्रस्तुत गर्नुभएको छ।

 

 

 

 

मूलरुपले आज नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउनेबारेमा छलफल केन्द्रित रहेको छ।