सत्तामा हुँदा फितलो कार्यसम्पादन, सत्ताबाहिर पुगेपछि अनेक फण्डा

काठमाडौं । हरेक राजनीतिक दलहरुले सत्तामा हुँदा अहंकार देखाउने र सत्ताबाट बाहिरिएपछि सत्ताकै लागि अनेक किसिमका हतकण्डाहरु अपनाउने गरेका छन् । सत्ताकै लागि मरि मेट्ने तर सत्तामा पुगेपछि निरीह बन्ने राजनीतिक दलहरुको यो शैलीले जनता आजित भएका छन् । सत्तामा हुँदा कार्य सम्पादन गर्न नसक्ने तर सत्ता बाहिर पुगेपछि अनेक विषयमा खरो टिप्पणी गर्ने दलहरुको चरित्रले जनतामा निराशा पैदा गराएको छ ।

हरेक राजनीतिक दलहरुको विधि, विधानमा भिन्नता भए पनि एउटा कुरामा भने समानता देखिन्छ । त्यो हो, विभिन्न हतकण्डा अपनाएर कसरी सत्ताको कुर्सीमा पुग्ने । यो नेपालका राजनीतिक दलहरुको विगतदेखिको नै कार्यशैली हो । उनीहरु सत्ताका लागि जस्तोसुकै मुल्य चुकाउन पनि तयार हुन्छन् । जनतालाई सत्तामा पुग्ने भ¥याङ बनाउने तर सत्तामा पुगेपछि कार्य सम्पादन गर्न नसक्ने नेतृत्वका कारण देशले दुर्नियति भोगिरहेको जानकारहरुको भनाइ छ । दलहरुको यो प्रवृत्तिले राजनीतिक वृत्तमा मात्र होइन, अन्य क्षेत्रमा समेत प्रभाव पार्दै आएको छ ।

 

जनताका आधारभूत आवश्यक्ताहरुको परिपूर्ति गर्ने नारासहित सत्तामा पुगे पनि सोही अनुसार जनताले परिणाम पाउन सकेका छैनन् । सत्ताको कुर्सीमा पुगेपनि ती नेतृृत्वहरुले जनताको कुरा मात्र विर्सिदैनन्, आफ्नो व्यक्तिगत स्वार्थमा केन्द्रित हँुदा अनेकौ झमेलामा अल्झीरहन्छन । त्यसको एउटा उदाहरणका रुपमा यतिबेला नेपाल सरकार र राजनीतिक दलहरुको बीचमा एसपीपी सम्झौतालाई लिएर बहस र छलफल हुन थालेका छन् । अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौताको सन्दर्भमा अहिले राजनीतिक दलहरु आरोप प्रत्यारोपमा रुमलिएका छन् ।

 

तर एसपीपी सम्झौताका सन्दर्भमा पनि सबै राजनीतिक दलभित्र समान मत भने देखिएको छैन । एसपीपी सम्झौताकै विषयमा सत्तारुढ दल तथा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुको मत विभाजित अवस्थामा रहेको पाइएको छ् । सत्तामा हुँदा सन्तुलित अवस्थामा बस्ने तर प्रतिपक्षमा पुगेपछि विभिन्न हतकण्डा सिर्जना गरेर चर्को प्रतिवाद गर्ने प्रवृत्तिले जनतामा वितृष्णा पैदा भएको देखिन्छ । दलहरुका यस्ता व्यवहारबाट आजित भएका जनता स्वतन्त्र उम्मेदवारहरुलाई रुचाउन थालेको दोस्रो स्थानीय तह निर्वाचनको मत परिणामले देखाएको छ ।

 

सत्ताको कुर्सीमा पुगेका राजनीतिक दलहरु जब प्रतिपक्षमा पुग्छन् तब उनीहरु जनताका मुद्दाहरु प्रमुख रुपमा उठाउने प्रयत्न गर्छन । त्यति मात्र होइन सत्तामा रहेको फरक दललाई कसरी कमजोर बनाउन सकिन्छ भनेर उनीहरु कसरत गरिरहेका हुन्छन् । तर पदका लागि मरि मेट्ने राजनीतिक दलहरुले आगामी दिनका लागि केही गर्न बाँकी नराखेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

 

सरकार जनताको अभिभावक भएपनि अभिभावकलाई कसरी र कस्तो बाटोमा हिँडाउने भन्ने प्रतिपक्षीले प्रमुख भूमिका खेल्नु पर्दछ । प्रतिपक्षीको सकरात्मक भूमिकाकै आधारमा सरकार गतिशील बन्ने जानकारहरुको भनाइ छ ।