शेखर समूहको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक पनि बस्ने भएको छ ।

 

 

बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो ।

 

 

 

हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो ।

 

 

१४ औं महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए ।

 

 

नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।

 

 

 

देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुशी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

 

 

 

देउवाको मनोमानी कायमै रहेमा ‘रचनात्मक’ विद्रोह गर्नुपर्ने सो समूहका नेताहरुले बताउँदै आएका छन् ।

 

 

हिजोको बैठकमा केन्द्रीय सदस्य डा.शेखर कोइराला, महामन्त्री गगन थापा, सह-महामन्त्री जीवन परियार, केन्द्रीय सदस्य डा. रामशरण महत, बलबहादुर केसी, उद्योगमन्त्री समेत रहेका नेता दिलेन्द्र बडू, सरिता प्रसाई, गोविन्द पोखरेल र चन्द भण्डारी सहभागी थिए ।

 

 

 

 

यस्तै रामकृष्ण यादव, किरण यादव, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, मनोजमणि आचार्य, जगदीशनरसिंह केसी, सञ्जयकुमार गौतम र प्रतिमा गौतम पनि बैठकमा उपस्थित थिए ।

 

बैठकमा पुगेका डा.महत सुरु भएको केहीबेरमै निस्किएका थिए।