सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत् नै वितरण गर्नुपर्छ: गृहमन्त्री खाँण

फाइल तस्वीर

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रणालीमार्फत् नै वितरण गर्नुपर्ने बताएका छन् ।

 

 

 

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफल’मा बोल्दै उनले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमार्फत नै वितरण गर्नुपर्ने बताएका हुन् ।

 

 

 

उनले बैंकिङ प्रणालीमार्फत नगर्दा भत्ता दिएबापत् राज्यले नभई व्यक्तिले जस लिनेगरी दुरुपयोग हुने उनले बताए ।

 

 

मन्त्री खाँणले ७५३ वटा स्थानीय तहहरु मध्ये ७५२ वटा स्थानीय तहमा बैंक पुगेको र बाँकी एउटा स्थानीय तहमा यही असार मसान्तसम्ममा पुग्ने जानकारी दिए ।

 

 

 

 

बैठकमा बोल्दै नेकपा (एमाले)की सांसद विमला वि।क।ले कुमारी आमाहरुलाई पनि एकल महिलाको रुपमा लिइ सामाजिक सुरक्षा भत्ता दिनुपर्ने बताइन् ।

 

 

 

उनले कुमारी आमाहरु सामान्य महिलाको जस्तो जीवनमा फर्किन कठिन हुने भन्दै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

 

 

 

उनले भनिन्, ‘जबर्जस्ती करणी लगायतका विविध कारणले गर्दा बच्चा जन्मिएका कुमारी आमाहरु बच्चा लिएर, अर्को विवाह नगरेर, बच्चाको पालनपोषण गरेर बसिरहनुभएको छ भने उहाँहरुलाई पनि हामीले एकल महिला सरहको सुविधाभित्र राख्नुपर्छ ।

 

 

 

 

अहिले पनि बलात्कृतजस्ता समस्याबाट ग्रसित महिलाहरुको सहजै फेरि विवाह हुने, घरबार हुने र सामान्य महिला, पुरुषको जस्तो जिन्दगीमा फर्किनलाई अहिले पनि कठिनाई छ ।

 

 

 

उनले थप भनिन्, ‘भोलि उहाँले विवाह गर्नुभयो, घर–गृहस्थी गर्नुभयो । अर्कोतरिकाले जानुभयो भनेदेखि सामाजिक सुरक्षाभित्र उहाँलाई राख्नु परेन ।

 

 

 

तर विवाह नहुँदासम्मको अवस्थामा जबर्जस्ती करणीजस्ता व्यवहारबाट बच्चा जन्माइ विवाह नगरी बसेका महिलाहरुलाई एकल महिला मानेर सुविधाभित्र ल्याउनुपर्छ ।