तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

काठमाडौं। पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्।

 

 

मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ।

 

 

 

खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल ३६० पुगेको छ ।

 

 

 

तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ ।

 

 

दुई महिना अघिसम्म प्रतिकिलो रु ६० देखि रु ७० पर्ने गेलभेँडाको मूल्य बढेर अहिले १६० पुगेको छ ।

 

 

 

यसैगरी प्रतिकिलो भिन्डी ७०, काउली ९०, रायो १००, घिउसिमी ७०, तनेबोडी १०० नयाँ आलु ६०, पुरानो आलु ३५ पुगेको छ । प्रतिकिलो हरियो खुर्सानी १५०, लौका र फर्सी ४० देखि ५० पुगेको छ ।

 

 

लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोभक्ताले बताएका छन् । साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन् ।

 

 

 

‘साग र तरकारीको मूल्य छोइनसक्नु भएको छ,’ स्थानीयवासी डबलबहादुर बोहराले भने, ‘तरकारी र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन् ।

 

 

 

अर्का उपभोक्ता नारायण चौधरीले हुने खानेले बढी मात्रामा प्रयोग गरिरहेको पेट्रोल, डिजेलमा मूल्य घटाउनुपर्ने तर विपन्न वर्गको प्रयोगमा रहेको खाना पकाउने ग्याँसको मूल्य नघटाउने सरकारको नीति गरिबमारा रहेको आरोप लगाए ।

 

 

 

अन्य महिनाको भन्दा वर्षायाममा तराईका जिल्लामा सागलगायत तरकारी उत्पादन निकै कम परिमाण भएको ।

 

 

 

तराईका सहरी क्षेत्रमा यसको माग पूरा गर्न पहाडी जिल्लाबाट साग र तरकारी आउने गरेकाले वर्षामा यसको मूल्य पनि वृद्धि हुने गर्दछ तर अहिलेको वर्षामा अचाक्ली ढङ्गले मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो थियो ।

 

 

 

 

मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उनीहरुको भनाइ थियो।रासस,