सानेपामा कांग्रेस पदाधिकारी बैठक जारी
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ।सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो एक बजे बस्ने भनिएको बैठक तीन घन्टा ढिला सुरु भएको हो।
पार्टी उपसभापति पूर्ण बहादुर खड्का तथा शेखर कोइराला समूहका नेताहरु नआउँदा बैठक तोकिएकै समयमा सुरु हुन नसकेको हो।
पदाधिकारी बैठक र केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न शेखर कोइराला समूह बिहानैदेखी छुट्टै छलफलमा थियो।
पदाधिकारी बैठकमा भोली बस्ने पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने भनिएको छ।
यस्तै पार्टीका भ्रातृ तथा सुभेच्छुक संस्थाको मान्यता र विधान व्यवस्थापनबारे पनि छलफल हुनेछ। बैठकमा पाटी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित छैनन्।
यस्तै पाटीका महामन्त्री विश्वप्रकाश शर्मा पनि अमेरिका भ्रमणमा रहेकाले बाँकी पदाधिकारी बैठकमा सहभागी रहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए।
कांग्रेसले पार्टीको १३ औ महाधिवेशनपछि तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठन भएको ‘भ्रातृ एवं सुभेच्छुक सस्थाको विधान मापदण्ड निर्धारण तथा एकरुपता’ समितिले पेश गरेको प्रतिवेदनअनुसार एकरुपता कायम गरी केन्द्रीय समिति बैठकबाट निर्णय लिने निर्णय गरिएको थियो।
हालसम्म ६ वटा भ्रातृ संस्थाको विधानलाई एकरुपता दिने गरी केन्द्रीय कार्यालयले स्वीकृति दिएर सम्बन्धित भ्रातृ संस्थालाई दिइसकेको छ।
काँग्रेसले नयाँ विधानमा पदावधि, कार्यसमिति, संगठन संरचना, महाधिवेशनका प्रक्रिया, पार्टीमा प्रतिनिधित्वलगायत आधारभूत बिषयमा एकरुपता कायम गर्ने गरी अध्ययन थालेको छ।
आजको बैठकमा पनि यस बिषयमा थप छलफल गरेर भोलिको बैठकमा प्रतिवेदन बुझाउनुपर्ने भएकाले समितिका संयोजक साउद र सदस्य गुरु घिमिरे पनि सहभागी छन्।