कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा हिजो पेश भएका थप एजेण्डाहरुमा छलफल हुने छ ।
काँग्रेस भित्र स्थानीय चुनावको समिक्षा, आगामी चुनावको रणनीति र गठबन्धन एवं भातृ संस्थाहरुको बारेमा केन्द्रीत छलफल चलिरहेको छ ।
सोमबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएका थिए ।
यसैगरी, बैठकमा सातै प्रदेशका प्रदेश सभापतिहरुले स्थानीय निर्वाचन सम्बन्धी प्रदेशगत ब्रिफिङ गर्नुभएको छ ।
ब्रिफिङका क्रममा स्थानीय चुनावमा गठबन्धन गरिएको बारे प्रदेश सभापतिहरु विभाजित देखिएका छन् ।
सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला, प्रदीप पौडेल, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला पन्त, कृष्णकिशोर घिमिरे, नारायणबहादुर कार्की, तारामान गुरुङ, दिनेशकुमार यादव, नैनसिंह महर, गुरु बराल र दिनेश कोइरालाले धारणा राख्नु भएको थियो ।
बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए ।