आज चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार

काठमाडौं। सरकारले प्रतिनिधि र प्रदेशसभाको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणाको तयारी गरेको छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने छ ।

 

 

सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमतिअनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी भएको हो । बुधबार बसेको गठबन्धनको बैठकले चुनावको मिति घोषणाका लागि सरकारलाई सुझाव दिने निर्णय गरेको थियो ।

 

 

 

गठबन्धनको सुझावअनुसार आगामी मंसिर ४ गते चुनावको मिति घोषणा हुनसक्ने सम्भावना प्रवल छ । यसअघि निर्वाचन आयोगले आउँदो मंसिरको २ गते चुनावको मिति घोषणा गर्न सरकारलाई प्रस्ताव गरेको थियो ।

 

 

 

तर, प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका लागि मंसिर ४ गते उपयुक्त हुने बताएका थिए । देउवाका ज्योतिषले चुनावका लागि मंसिर ४ उपयुक्त मिति रहेको सुझाव बालुवाटारमा पेस गरेको बताइन्छ ।

 

 

 

यसअघि मंसिर २ गते संघ र प्रदेशको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका थिए । बरु मंसिर ४ मा चुनाव गर्न सकिने जवाफ देउवाले आयोगलाई दिएका थिए ।

 

मंसिर २ मा चुनाव गर्ने आयोगको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार

 

 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली २२ असारमा निर्वाचनको मिति घोषणाका लागि परामर्श गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार गएको थियो ।

 

 

 

बालुवाटारमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतसँग टोलीले मंसिर २ गते एकैचरणमा संघ र प्रदेशको निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

 

 

तर, प्रधानमन्त्री देउवाले भने आयोगले प्रस्ताव गरेको भन्दा दुई दिन ढिलो अर्थात मंसिर ४ मा चुनाव गर्नेगरी तयारी गर्न निर्देशन दिएका थिए ।