रुकुममा हावाहुरीले मकै बालीमा क्षति

रुकुमपूर्व। रुकुमपूर्वमा हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ। जिल्लाको विभिन्न ठाउँमा किसानले लगाएको मकै बालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका हुुन्। शुक्रबार र शनिबार रातिको वर्षासँगैको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको हो।

 

 

 

हावाहुरीका कारण यसपालि लगाएको मकै सबै ढलेर सखाप भएको सिस्ने गाउँपालिका–५ माथिल्लो ह्याप्लाका सुमन बोहोराले बताए।

 

किसानले लगाएको सबै मकै ढलेपछि ६ महिना धकेल्ने अन्नको सत्यानास भएको बोहोराले दुःखेसो पोखे।

 

 

यस्तै भूमे गाउँपालिकाको ९ नं वडामा पनि हावाहुरीले मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ। यस वडाको च्याङचुङमा अहिले कतै पनि ठाडो मकै देख्न नसकिने गन्जु खड्काले बताए।

 

 

च्याङचुङमै दलबहादुर खड्का र विमला खड्काको घर पनि पहिराको जोखिममा परेको उनले बताए।

 

 

 

भूमे गाउँपालिका–८ को कुचिवाङमा पनि हावाहुरीका कारण मकै बाली सखापै छ। कुचिवाङमा यसअघि नै पहिराले खानेपानीको मुहानमा क्षति पुर्‍याउँदा आकाशको पानी सङ्कलन गरेर पिउन त्यहाँका नागरिक बाध्य छन्।

 

 

 

 

शुक्रबार र शनिबारको वर्षाले विद्युत् आयोजनामा क्षति गर्दा गाउँ नै अन्धकार भएको त्यहाँका स्थानीयवासीले बताएका छन्।

 

 

 

कुचिवाङ खोला लघुजलविद्युत् आयोजनाको नहरमा पहिराले क्षति पुर्‍याएको छ भने पोल ढलेका छन्, तारसमेत चुडिएका छन्। रासस