संसद बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दैछ। विहान ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन बमोजिम बाधा अड्काउ फुकाउ आदेश पेश गर्ने संभावित कार्यसूची छ।

 

 

 

कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ऐनको दफा ४२ बमोजिम आदेश पेस गर्नेछन्।

 

 

आजको बैठकमा सांसद बिन्दा पाण्डेको ध्यानाकर्षण प्रस्ताव र अमृता थापाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पनि पेश हुने संसद सचिवालयले जनाएको छ।

 

 

 

 

पाण्डेले आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएको भन्दै जरुरी महत्वको विषयमा कानुन मन्त्रीको ध्यानकर्षण गराउनेछन्।

 

 

 

त्यस्तै सांसद थापाले प्रत्येक दलले जनसंख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्ने, स्थानीय तहको चुनावमा विभिन्न पदमा हरेक दलले कम्तिमा ५० प्रतिशत महिला उम्मेदवार दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसंख्यक वा सीमान्तकृत वा अरु कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गनुपर्ने भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन्। उनको प्रस्तावमा सांसद लक्ष्मी परियारसहित ११ जनाले समर्थन गर्नेछन्।

 

 

 

बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र विभिन्न संसदीय समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने संसद सचिवालयले जनाएको छ।